नेकपाका दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको बालुवाटारमा र प्रचण्ड-नेपाल समूहको बैठक कार्की ब्यांक्वेट बबरमहलमा बस्न लागेको हो ।
यसअघि गत मंगलबार पनि दुवै पक्षले आ–आफ्ना समूहका बैठक आयोजना गरेका थिए । ११ बजेपछि बस्न लागेको प्रचण्ड-नेपाल समूहको बैठक मंगलबाररकै बैठकमा तोकिएका ९ वटा एजेण्डा मध्ये बाँकी रहेका एजेण्डामा छलफल हुने बुझिएको छ । नेतृ पम्फा भुषालका अनुसार बैठकले संसद विघटनविरुद्ध विरोधका कार्यक्रम घोषणा गर्नेछ ।
यसअघि मंगलबार बसेको बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउँदै वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । बहुमत केन्द्रीय सदस्य आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड-नेपाल समूहले संसद पुनःस्थापपनाका लागि सडक आन्दोलनमा समेत उत्रने बताउँदै आएको छ ।
यस्तै ओली समूहको केन्द्रीय कमिटीको बैठक दिउँसो १ बजे बालुवाटारमा बस्नेछ । मंगलबार बसेको ओली पक्षीय केन्द्रीय कमिटी बैठकले भने केन्द्रीय कमिटीलाई १ हजार १९९ सदस्यीय बनाएर ७८ मंसिरका लागि महाधिवेशनको मिति तोकेको छ । दुवै समूहले आफू नै मुल पार्टी भएको दाबी गर्दै आएका छन् ।








