सबैको नजर अदालतमा, केन्द्रमा छन् जबरा

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि प्रारम्भिक सुनुवाइ हुँदैछ । सर्वाेच्चमा परेका १३ मध्ये १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हो । अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने छ ।

नेकपामा आन्तरिक विवाद बढेपछि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले ‘मनोमानी’ रुपमा संसद विघटन गरेपछि सांसद र कानुन व्यवसायीहरुले रिट दर्ता गरेका थिए । रिट सुरुमा एकल इजलासमा निवेदनहरू पेस हुने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार त्यहाँ निवेदकहरूको पक्षबाट प्रारम्भिक सुनुवाइ हुन्छ र इजलासको आदेशअनुसार प्रक्रिया अघि बढ्छ ।

एकल इजलासमा को न्यायाधीश रहेनछन् भन्नेबारे बिहान करिब १० बजेपछि पेसी सूची प्रकाशित गरेपछि मात्रै थाहा हुनेछ । इजलास गठन र पेसी तोक्ने अधिकार प्रधानन्यायाधीशलाई छ । प्रधानन्यायाधीशले आफूलाई वा अरू जो–कोही न्यायाधीशलाई एकल इजलास तोक्न सक्छन् ।

जुनसुकै इजलासमा सुनुवाइ भए पनि देशमा देखिएको ठूलो अन्योलको निरूपण गर्न अब सर्वोच्च अदालतको आदेश नै पर्खनुपर्ने छ । जसको केन्द्रमा छन् प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा । जो राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्धको यो मुद्दा कुन इजलासमा राख्ने भन्ने निर्णय गर्दैछन् । योसँगै अहिले सबैको नजर सर्वोच्च अदालतमा छ ।

प्रतिक्रिया