तीन दलको एउटै स्वर–संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको सर्वदलीय बैठकमा सहभागी तीनओटै दलले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेका छन् । बैठकमा सहभागी नेपाली कांग्रेस, नेकपाका प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका हुन् ।
सोमबार साँझ बसेको तीन दलका नेताहरूको बैठकले प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै तीनवटै दलका केन्द्रीय कमिटी बैठकबाट संघर्षका कार्यक्रम तय गरी विरोधमा उत्रिन साझा धारणा बनाएका छन् ।
थप कार्यक्रमका लागि आ–आफ्नो पार्टीको केन्द्रीय कमिटीबाट निर्णय गर्न एकमत भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। श्रेष्ठले भनेका छन्, ‘भोलि तीनै दलको केन्द्रीय कमिटी बैठक छ। त्यही बैठकमा प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय हुन्छ, त्यसपछिका थप संघर्षका कार्यक्रम पनि सल्लाह गरेर सार्वजनिक गर्छौं।’
आजको सर्वदलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर सहभागी भएका थिए।








