दाहाल–नेपाल पक्षको भन्दा अगाडि नै ओली पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सत्ताधारी दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले असन्तुष्ट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भन्दा अगाडि बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
यसअघि दाहाल–नेपाल पक्षले मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएको थियो । गत ५ गते बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निष्कर्ष निकालेको थियो । जसका लागि १० गतेको लागि तय भएको केन्द्रीय कमिटी बैठक ७ गतेको लागि सारिएको थियो ।
तर, ओलीले दाहाल–नेपाल पक्षीय बैठकभन्दा अगाडि नै बस्नेगरी बैठक बोलाएका हुन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार बैठक बिहान ९ बजेका लागि बालुवाटारमा डाकिएको छ ।
आइतबार ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नयाँ मोड लिएको नेकपा विवादले अहिले नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।








