दाहाल–नेपाल पक्षीय भेला शुरु, बामदेव गौतम अनुपस्थित

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरुको भेला शुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको भोलिपल्ट असन्तुष्ट दाहाल–नेपाल पक्षीय सांसदहरु जुटेका हुन् ।
भेलामा सहभागी हुन बानेश्वर पुगेका सांसदहरुको हस्ताक्षरसमेत संकलन गरिनेछ भने विद्यमान परिस्थितिलाई रणनीतिक ढङ्गबाट पार लगाउनको लागि भेलाले एउटा निष्कर्ष निकाल्ने छ ।
भेलामा दाहाल–नेपालसँगै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अन्य प्रभावशाली नेताहरु सहभागी छन् । यसअघि उनीहरुले संविधानविद् तथा कानूनविद्हरुबाट परामर्शसमेत लिएका थिए ।
भेलामा नेपाल–दाहाललाई नै दह्रो साथ दिँदै आएका उपाध्यक्ष बामदेव गौतम भने सहभागी छैनन् । गौतमलाई गत १ गते बसेको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री’को अफर गरेका थिए ।
तत्पश्चात् प्रतिनिधि सभा भङ्ग गरेका ओलीको कदमविरुद्ध ‘नो कमेन्ट’ भनेर शुरुमा बोलेका गौतमले पछि मात्रै भर्त्सनायोग्य भनेका थिए ।
ओलीले भने बिहानै बालुवाटारमा भेला गरिसकेका छन् । जहाँ पूर्वमाओवादीका नेता लेखराज भट्टसमेत मिसिएका थिए ।








