‘दुईतिहाइ जनमतमाथिको निर्लज्ज घात’

काठमाडौं । विवेकशील साझा पार्टीले संसद विघटनको सिफाारिस हुनु दुईतिहाइ जनमतमाथिको निर्लज्ज घात भएको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठकद्वारा गराएका संसद विघटको सिफारिस घोर असंवैधानिक भएको बताउँदै साझाले यस्तो बताएको हो ।
विज्ञप्तिमार्फत् नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेकोसमेत उल्लेख गर्दे साझाले थप भनेको छ, ‘संसदबाटै वैकल्पिक सरकार निर्माण गर्ने अधिकार संसदलाई छ । सो अधिकारको प्रयोग नै नगरी निहित स्वार्थपूर्तिका लागि कुण्ठा र अहंग्रस्त कदम चालेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र सम्भावित दुर्घटनातर्फ धकेलेका छन् ।’
प्रधानमन्त्री ओली बढ्दो रुपमा राष्ट्रघातीसमेत देखिन थालेको औंल्याउँदै साझाले भनेको छ, ‘संसद विघटनको उन (प्रधानमन्त्री)को सिफारिसका बारे संघीय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल शुरू गर्न विवेकशील साझा पार्टी राष्ट्रपति भण्डारीसँग आग्रह गर्दछ ।’
यस्तै साझाले आम नागरिकलाई प्रधानमन्त्री ओलीको उक्त कदमविरुद्ध एकजुट भएर लाग्नसमेत आह्वान गरेको छ ।









