ओलीको म्याराथन भेटः सहमतिको कोसिस कि प्रचारमात्रै ?

काठमाडौं । सत्तारुढ नेकपामा शक्ति संघर्ष जारी रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली शनिबार दिनभर नेता भेट्न दौडधुपमा निस्किए । उनी प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक ओली दाहाललाई भेट्न खुमलटार पुगे ।

पार्टीको विषयमा होस् वा सरकारका अन्य विषयमा छलफल गर्दा होस् सधैं नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार धाउने गरेका थिए । तर, शनिबार भने प्रधानमन्त्री ओली छलफलका लागि प्रचण्ड निवास पुगेका हुन् । त्यहाँ प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डसँग छलफल गरेपछि उपाध्यक्ष वामदेव गौतमसित पनि छलफल गरेका थिए ।

खुमलटारबाट सिधै मन्त्री क्वार्टर पुल्चोक पुगेका प्रधानमन्त्री ओलीले गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल निवासमा पुगेर भेटवार्ता गरे । केहीबेर गृहमन्त्री थापालाई एक्लै भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि अन्य मन्त्रीहरूसँग समेत छलफल गरेका थिए । छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्याल, कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फे पनि सहभागी थिए ।

पुल्चोकमा मन्त्रीहरुसँग छलफल गरेपछि ओली त्यहाँबाट बालुवाटार फर्किएका थिए । बालुवाटार फर्किएपछि ओली शनिबार साँझैं राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगे । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा पछिल्लो राजनीति परिस्थितिबारे परामर्श भयो ।

उपलब्धी शून्यप्रायः
खुमलटार भेटमा प्रधानमन्त्री ओलीले गत कात्तिक २८ गतेको पार्टी सचिवालय बैठकमा प्रचण्डले पेस गरेको प्रस्ताव फिर्ता गर्न भनेका थिए तर, उक्त प्रस्ताव स्थायी कमिटीमा गएकाले फिर्ता नलिने बताएका थिए ।

‘प्रधानमन्त्री ओलीले अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर, अध्यक्ष प्रचण्डले प्रस्ताव स्थायी कमिटीको बैठकमा गइसकेकाले फिर्ता गर्न अस्वीकार गर्नुभयो,’ स्रोतले भन्यो । अहिले सोही विषयलाई लिएर नेकपाको आन्तरिक विवाद चर्कँदो छ ।

विवाद उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि नेकपाको विवाद झनै चर्किरहेको हो । सोही विवाद मिलाउने सन्दर्भमा नेताहरूको अहिले सक्रियता बढ्दो छ । त्यसो त प्रधानमन्त्री ओलीले पुस १ गते बसेको स्थायी कमिटीको बैठकमा अध्यादेश फिर्ता ल्याउने सहमति जनाएका थिए । तर, अहिलेसम्म पनि ओलीले अध्यादेश फिर्ता लिएका छैनन् ।

सहमतिको कोसिस कि प्रचारमात्रै
प्रधानमन्त्री ओलीको पछिल्लो सक्रियतालाई कतिपयले लचकताका रुपमा बुझेका छन् । तर, यता नेकपा नेता तथा पूर्वमन्त्रीसमेत रहेका मातृका यादव भने यो कुरामा पटक्कै सहमत छैनन् ।

नेता यादवले प्रधानमन्त्रीको खुमलटार प्रस्थानलाई ‘कलाकारिता’को रुपमा बुझेका छन् । ‘यसलाई प्रधानमन्त्रीको लचकताको रुपमा बुझ्नुहुन्न र उहाँको लचकता देखाउनुभएको पनि होइन । नेता यादवले मकालु खबरसँगको कुराकानीको क्रममा भनेका छन्, ‘उहाँले खाली कलाकारिता देखाउनुभएको हो ।’

विवादकै बीच दाहाल-नेपाल समूहले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न ओलीलाई निरन्तर दबाब दिइरहेका छन् भने ओलीले दुवै पद नछोड्ने भन्दै नेताहरूलाई आफ्नो पक्षमा पार्न फकाउदै आएका छन् । दुवै पक्षले आ-आफ्नो समूहको छुट्टाछुट्टै भेला राख्न थालिसकेका छन् । यहीबीच नेकपाले आज स्थायी कमिटी बैठक बोलाइएको छ भने १० पुसमा केन्द्रीय कमिटीको बैठक राखेको छ ।

प्रतिक्रिया