‘प्रधानमन्त्रीले कलाकारिता देखाउनुभयो’

काठमाडौं । शनिबार प्रधानमन्त्रीसमेत रहेका सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनकै निवास खुमलटार पुगे । बिहान करिब ११ बजेतिर खुमलटार पुगेका ओलीको अडान भने उही थियो–‘लाञ्छनापत्र फिर्ता लिनुस् ।’ त्यसो त दाहालले पनि पुरानै अडान दोहोर्याए । उनले भनेका थिए, ‘म प्रस्ताव फिर्ता लिन्नँ ।’ सदाका दिनमा दाहालले बालुवाटार धाउँथे भने शनिबार ओली खुमलटार पुगे । कतिपयले यसलाई प्रधानमन्त्रीको लचकताका रुपमा बुझेका छन् ।

तर, यता नेकपा नेता तथा पूर्वमन्त्रीसमेत रहेका मातृका यादव भने यो कुरामा पटक्कै सहमत छैनन् । नेता यादवले प्रधानमन्त्रीको खुमलटार प्रस्थानलाई ‘कलाकारिता’को रुपमा बुझेका छन् । ‘यसलाई प्रधानमन्त्रीको लचकताको रुपमा बुझ्नुहुन्न र उहाँको लचकता देखाउनुभएको पनि होइन । नेता यादवले मकालु खबरसँगको कुराकानीको क्रममा भनेका छन्, ‘उहाँले खाली कलाकारिता देखाउनुभएको हो ।’

लचकता होइन, कलाकारिता
प्रधानमन्त्री खुमलटार पुग्नुलाई कसरी विश्लेषण गर्नुहुन्छ ? मकालु खबरको जिज्ञासा थियो । जवाफमा नेता यादवले भने, ‘सारा जनता, कार्यकर्ता अनि नेताहरुको आँखामा छारो हाल्न प्रधानमन्त्रीले यसो गरिरहनुभएको हो । मेरो भाषामा भन्नुपर्दा यो लचकता होइन, सिर्फ कलाकारिता हो ।’

नेता यादवले खुमलटार पुगेर प्रधानमन्त्रीले दाहाललाई प्रस्ताव फिर्ता नभए पार्टी फुट्ने भनेको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन् । ‘मलाई लाग्छ, उहाँले खुमलटार पुगेर पनि प्रस्ताव फिर्ता लिनुभएन भने पार्टी फुट्छ भन्नुभयो होला ।’

पार्टीको निर्णय मान्नु नै मिलन बिन्दु
नेकपाभित्र लामो समयदेखिको रस्साकस्सी लम्बिएको लम्बिएकै छ । विद्यमान विवादलाई गत ३० गते प्रधानमन्त्रीले आफूअनुकूल जारी गराएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले झनै बढावा दिएकोजस्तो देखिएको छ ।

यसै सन्दर्भको ‘अब नेकपाको मिलन बिन्दु कता भेटिएला ?’ भन्ने प्रश्नको सामना एक वाक्यमा गरे नेता यादवले । उनले भने, ‘बैठकमा भेटिन्छ ।’ उनले थप भनेका छन्, ‘बैठकमा आउनुपर्यो । छलफल गर्नुपर्यो । अनि पार्टी निर्णय मान्नुपर्यो । त्यहीँ भेटिन्छ, मिलन बिन्दु ।’

जारी स्थायी कमिटी बैठकअन्तर्गतको भोलिको छलफलमा प्रधानमन्त्री आउने छाटकाँट नदेखिएको बताएका नेता यादवले भनेका छन्, ‘सायद प्रधानमन्त्री भोलिको बैठकमा आउनुहुन्न होला । अहिलेसम्मको उहाँको तरखर देख्दा त आउनुहुन्नजस्तो लाग्छ ।’

प्रतिक्रिया