विवाह पञ्चमी पर्व: स्वास्थ्य मापदण्ड पालना गर्न राष्ट्रपतिको आग्रह

काठमाडौं । हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मनाइँदैछ । त्रेता युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्‍याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ ।

रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । शोभायात्रामा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।

यस वर्ष भने कोरोना सङ्क्रमण जोखिमका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रम समेत छोटो विधिबाट भौतिक दूरी कायम गरी मनाइनेछ ।

स्वास्थ्य मापदण्ड पालना गरेर विवाह पञ्चमी पर्व मनाउन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले माता सीता र भगवान् रामको शुभविवाह सम्पन्न भएको विशेष दिनका सम्झनामा मनाइने विवाहपञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी छिन् ।

नेपाली समाज ऐतिहासिककालदेखि नै सहिष्णुता र सभ्यताको केन्द्र रहेको जनाउँदै राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाहपञ्चमी पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वा्स व्यक्त गरेकी छिन् ।

पर्वका समयमा सामाजिक अन्तरक्रिया बढ्ने हुनाले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाहपञ्चमीको उत्सव मनाउन उनले सबैमा आह्वान गरेकी छिन् ।

मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवम् सम्बर्धन गर्न विवाहपञ्चमी पर्वमार्फत सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गरेकी छिन् ।

प्रतिक्रिया