मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

‘अध्यादेश फिर्ता नगरिए थप एक्सनमा जान्छौं : प्रचण्ड
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने बताएका छन् ।

शुक्रबार पेरिसडाँडामा प्रदेश नं. १ का आफूहरु निकटका नेताहरुसँगको भेलामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । अध्यादेश फिर्ता गर्ने पार्टी निर्णय भएकाले कार्यान्वयनमा ढिलाइ गर्न नहुने दाहालको भनाइ थियो ।

अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यादेश फिर्ता गर्ने बाहेक अर्को विकल्प नभएको पनि दाहालको भनाइ थियो । यस्तै दाहालले आफूहरुको उद्देश्य निषेध नभइ नियन्त्रण गरेर अगाडि बढ्ने रहेको बताएका छन् ।

‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै बैठकमा नजाने बताएका छन् । उनको निजी सचिवालय सदस्य विश्वमणि सुवेदी (विमसु) ले आफ्नो आधिकारिक फेसबूकमार्फत् दिएका जानकारीअनुसार उपाध्यक्ष गौतमले अन्य बैठकमा नगए पनि पाँचे नेता (दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–भलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ)को बैठकमा भने जाने बताएका हुन् ।

शुक्रबार विमसुले उपाध्यक्ष गौतमको भनाइलाई उदृत गर्दै फेसबूकमा लेखेका छन्, ‘नेकपा उपाध्यक्ष क. बामदेव गौतमले भन्नुभयो– म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने म जान्छु । अहिले भेला गर्ने बेला हैन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।’

गौतमको उक्त बोलीले शुक्रबार दिउँसो दाहाल–नेपाल पक्षले पेरिडाँडामा बोलाएको बैठकलाई संकेत गर्छ । जहाँ, उपाध्यक्ष गौतम अनुपस्थित भएका थिए ।

ओम्नी प्रकरणमा छानबिन गर्न लेखाले अख्तियारलाई दियो निर्देशन
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मेडिकल सामग्री खरिद प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले शुक्रबार सार्वजनिक लेखा समितिमा स्पष्टोक्ति दिँदै यसमा आफ्नो संलग्नता स्वास्थ्य सेवा विभागको खरिद फाइल मन्त्रिपरिषद्सम्म पुर्याउनेमात्र रहेको पनि बताएका हुन् ।

सार्वजनिक लेखा समितिले ओम्नी कम्पनीले जिम्मा पाएको मेडिकल सामग्री खरिद प्रकरणको थप छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । मन्त्री ढकाल र सांसदहरुको छलफलपछि समितिले अख्तियारलाई निर्देशन दिएको हो । महिनौँको आलटालपछि शुक्रबार बल्ल लेखा समितिमा उपस्थित भएका मन्त्री ढकालले मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको निर्णयमा कोरोनाबिरुद्धको स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाइएको बताए ।

स्वास्थ्य सामग्री खरिदको सम्पूर्ण जिम्मा स्वास्थ्य सेवा विभागले लिए पनि स्वास्थ्य मन्त्रीका सल्लाहकारका रुपमा खेम कार्की र मन्त्रीका रुपमा आफू खरिद निर्णयको बैठकमा उपस्थित भएको ढकालले जानकारी दिए । यो विषयमा भएको अनियमितताबारे स्वास्थ्य मन्त्रालयले के कारबाही अघि बढायो भन्ने प्रश्नको जवाफमा मन्त्री ढकालले यो विषयबारे अख्तियार र सर्वोच्च अदालतमा पनि मुद्दा परेकाले आफूले केही गरिरहनु नपरेको बताए ।

कांग्रेस संसदीय समितिले भन्यो– ‘तत्काल संसद अधिवेशन बोलाउनुपर्छ’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद अधिवेशन बोलाउनुपर्ने माग गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय समितिको बैठकले तत्काल संसद बैठक बोलाउनुपर्ने माग गरेको हो ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने पनि निष्कर्ष निकालेको छ । ‘सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश असंवैधानिक छ । त्यो फिर्ता लिएर तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छौं ।’ कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी गराइन् । नेतृ भुसालका अनुसार कांग्रेसले उखु किसानहरुको बाँकी भुक्तानी निर्धारित समयभित्र उपलब्ध गराउनु भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

राजसंस्था र हिन्दूराष्ट्रको माग गर्दै ललितपुरमा राप्रपाको विशाल प्रदर्शन
राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन सुरू गरेको छ । राप्रपा ललितपुर समितिले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा शुक्रबार मोटरसाइकल र्‍याली गरेको हो । कुपन्डोलबाट सुरु भएको ¥याली पुल्चोक, जावलाखेल, कुमारीपाटी हुँदै लगनखेलमा पुगेर सभामा परिणत हुने जनाएको छ ।

पछिल्लो समय देशभर विभिन्न राष्ट्रवादी समूहले राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा आन्दोलन तथा प्रदर्शन गर्दै आएका बेला राप्रपाले पनि थालेको हो ।

सभामुख सापकोटाको मुद्दामा पेशी तोकियो, तर सुनुवाइ भएन
सभामुख अग्नी प्रसाद सापकोटाविरुद्धको मुद्दामा आज पेशी तोकिएको थियो । तर, सुनुवाइ भने भएको छैन ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो । तर, हेर्न अदालतले भने आज हेर्न नभ्याइनेमा राखेको हो ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो । त्यतिबेला पनि नभ्याइने भन्दै नै सुनुवाइ सरेको थियो । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले विसं २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन छ ।

टीकापुर घटनाः उच्च अदालतद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
कैलालीको टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले उक्त फैसला गरेको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । उक्त घटना घटाएको आरोपमा कैलाली जिल्ला अदालतले २०७५ सालको फागुन २२ गते रेशमलाल चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो । उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ ।

जिल्ला अदालत कैलालीले लक्ष्मण थारुलाई तीन वर्षको सजाय फैसला गरेको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए । तर उच्च अदालतले थारूलाई जन्मकैदको सजाय सुनाएको छ । जन्मकैदको सजाय हुनेमा लक्ष्मण थारु, रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् ।

एसियामा कोरोनाको खोप आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो ।

ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन् ।

लेवान्डोस्कीलाई ‘द बेस्ट’ अवार्ड
पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले फिफाले वर्षको उत्कृष्ट खेलाडीलाई प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्ड जितेका छन् । अवार्डका लागि मनोनयनमा परेका लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले उपाधि जितेका हुन् । अर्जेन्टिनी कप्तान मेस्सीले बार्सिलोनाका लागि कुनै उपाधि नजितेपनि उनको व्यक्तिगत प्रदर्शन भने तारिफयोग्य थियो । यस्तै पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्टसलाई इटालियन लिगको उपाधि दिलाउँदा उनी लिगको मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका थिए ।

पोलिस फरवार्ड लेवान्डोस्कीले भने बायर्नका लागि निकै सफल वर्ष बिताए । उनकै गोलको आधारमा बायर्नले खेलेका सबै प्रतियोगिता जितेको थियो भने लेवान्डोस्की सर्वाधिक गोलकर्ता समेत भएका थिए ।

बोको हरामको अपहरण परेका ३ सय ४४ विद्यार्थी मुक्त
नाइजेरियामा बन्दुकधारी (बोको हराम) समूहले अपहरण गरेका सयौँ स्कुले छात्रहरु अपहरणमुक्त भएका छन् । उत्तरपश्चिमी नाइजेरियाको कट्सिना राज्यबाट अपहरणमा परेका ३ सय ४४ छात्र अपहरणमुक्त भएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

एक सरकारी आवसीय विद्यालयमा अध्यनरत ती विद्यार्थीहरु गत हप्ता अपहरणमा परेका थिए । उनीहरुलाई नाइजेरियामा आतंककारी गतिविधि गर्दैै आएको बोको हराम समूहले अपहरण गरेको थियो । बोको हराम समूहका प्रवक्ता अब्दुल लाबारानले अपहरित छात्रहरुलाई अपहरणमुक्त गर्न लागिएको विज्ञप्ति जारी गरेको केही दिनमा विद्यार्थी घर फर्केका हुन् ।

काट्सिना राज्यका गभर्नर अमिनु बेल्लो मसारीले अपहरणमा परेका धेरैजसो छात्रलाई फर्काउन सफल भएको र उनीहरुको स्वास्थ्य ठिक भएको पुष्टि गरेका छन् । ती विद्यार्थीलाई किन अपहरण गरिएको थियो र कसरी रिहा गरियो भन्नेबारे कुनै पनि जानकारी प्राप्त हुन नसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया