‘म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै बैठकमा नजाने बताएका छन् । उनको निजी सचिवालय सदस्य विश्वमणि सुवेदी (विमसु) ले आफ्नो आधिकारिक फेसबूकमार्फत् दिएका जानकारीअनुसार उपाध्यक्ष गौतमले अन्य बैठकमा नगए पनि पाँचे नेता (दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–भलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ)को बैठकमा भने जाने बताएका हुन् ।

शुक्रबार विमसुले उपाध्यक्ष गौतमको भनाइलाई उदृत गर्दै फेसबूकमा लेखेका छन्, ‘नेकपा उपाध्यक्ष क. बामदेव गौतमले भन्नुभयो– म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने म जान्छु । अहिले भेला गर्ने बेला हैन । बैठकबाट सबै समस्याको हल खोज्ने समय हो ।’

गौतमको उक्त बोलीले शुक्रबार दिउँसो दाहाल–नेपाल पक्षले पेरिडाँडामा बोलाएको बैठकलाई संकेत गर्छ । जहाँ, उपाध्यक्ष गौतम अनुपस्थित भएका थिए ।

पछिल्लो विवादमा गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दह्रो साथ दिइरहेका छन् । केन्द्रीय सचिवालयमै अल्पमतमा परेका अर्का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष गौतमलाई आफ्नो कित्तामा उभ्याउनको लागि विभिन्न प्रयास गर्दै आइरहेका छन् । पछिल्लो पटक बसेको जारी नेकपा स्थायी कमिटी बैठकमा पनि ओलीले आफ्नो कित्तामा उभ्याउने प्रयासस्वरुप प्रधानमन्त्री बनाइदिने बताएका थिए ।

तर, यता अन्य स्थायी कमिटी सदस्यहरुले भने ओलीले चाहँदैमा मात्रै उपाध्यक्ष गौतम प्रधानमन्त्री नबन्ने बताएका छन् । मकालु खबरसँग कुराकानी गर्दै एक स्थायी कमिटी सदस्यले भनेका छन्, ‘ओलीले मात्रै चाहेर कमरेड बामदेव गौतम प्रधानमन्त्री हुन सक्नुहुन्न । विधि हुन्छ, पद्धति हुन्छ । यत्तिकै हुँदैन ।’

विमसुको फेसबूक स्ट्याटसः–

प्रतिक्रिया