नेकपा अध्यक्षद्वयबीच भेटवार्ता हुँदै, बाँकी विषय टुङ्गोमा पुग्ने अपेक्षा

काठमाडौं । आज अपराह्न सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ । स्रोतले बताएअनुसार कार्यकारी अध्यक्ष दाहाल अपराह्न ओलीले भेट्न बालुवाटार पुग्नेछन् ।
आजको भेटमा अध्यादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउने पत्र फिर्ताको सहमति भएसँगै बाँकी किचलोबारे सहमति हुने अपेक्षा गरिएको छ । बुधबार दुई अध्यक्षबीच अध्यादेश र शीतल निवास पुगेको पत्र फिर्ता लिने सहमति भएको थियो ।
जारी स्थायी कमिटी बैठक हिजै बसेको थियो । शुरुमा तय गरिएको समय १ बजे ओली उपस्थित नभएपछि पुनः ४ बजे बसेको बैठकमा ओलीसमेत सरिक थिए । बैठकले संवैधानिक परिषद्को नियुक्तिमा पार्टीभित्र सहमतिका आधारमा हुनुपर्ने निर्णय गरेको थियो ।
खासगरी आजको वार्तामा १९ र ३८ पृष्ठको प्रतिवेदनबारे छलफल हुने बुझिएको छ । प्रतिवेदनबारे पनि हिजै सहमति भएको समाचारहरु सम्प्रेषण भएका थिए । तर, त्यसपछि दाहाल सचिवालयले अध्यादेश र शीतल निवास पुगेको पत्र फिर्ताबाहेक अरु सहमति नभएको बताएको थियो ।








