२४ घन्टा नबित्दै ‘फेल’ भएका केपी ओली

काठमाडौं । प्रसंग अध्यादेश र सत्तारुढ नेकपामा जारी विवादकै हो, संवैधानिक परिषद् बैठकको गणपूरक सङ्ख्या कटौती गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकूल निर्णय गर्नेगरी अध्यादेश जारी गरे । त्यो कदमपछि नेकपा विधिवत्, औपचारिकरूपमा फुटविभाजनतर्फ अग्रसर भएको लख काटियो ।

यसले नेकपा पंक्ति र विशेषगरी स्थायी कमिटी सदस्यहरूलाई चिन्तित तुल्याएको थियो । स्थायी कमिटी बैठक चालु रहेकै बेला अध्यादेश ब्युँताएपछि नचाहँदानचाहँदै र ख्यालख्यालमै नेकपा विभाजनको मुखमा पुग्यो भन्न पनि काटियो । अध्यादेशप्रति पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमात्रै होइन, प्रधानमन्त्री ओली पक्षधर नेताहरू पनि सन्तुष्ट थिएनन्, त्यसले ओलीलाई निकै दबाबमा राख्यो ।

बुधबार एक बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक समयमा सुरु हुन सकेको थिएन । दुई अध्यक्ष ओली र प्रचण्डको छलफल चलिरहेको थियो । तर, पहिलो छलफलमा प्रचण्ड र ओलीबीच कुनै सहमति हुन सकेन । त्यसपछि स्थायी कमिटी बैठक बस्न खोजे पनि ओली अनुपस्थित भए । बुधबार नै फेरि ओली र प्रचण्डबीच दोस्रो चरणको वार्ता भयो । त्यसपछि मात्र उनीहरुबीच सहमति भयो ।

यसका लागि नेकपा महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटीका सदस्य शंकर पोखरेल र घनश्याम भुसालले सक्रियता निकै बढाएका थिए । अन्ततः मंगलबार ल्याएको अध्यादेश बुधबार फिर्ता गर्न ओली तयार भए, संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई दिइएको निवेदन फिर्ता लिन प्रचण्ड-नेपाल तयार भए ।

ओली यो पटक २४ घन्टा पनि नबित्दै ब्याक भएका हुन्, यो अध्यादेश ल्याएर फिर्ता गरिएको यो पहिलो पटक होइन । यसअघि पनि ओलीले गत वैशाखमा ८ गते दुई अध्यादेश ल्याएका थिए । त्यति बेला ४ दिनपछि यी दुवै अध्यादेश १२ वैशाखमा फिर्ता गरिएको थियो । त्यति बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भन्दा बढी चर्चामा आएको थियो, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ।

२४ घन्टा पनि नबित्दै ओली ब्याक हुुुनुलाई नेकपाका केही नेताहरुले उनलाई फेल भएको संज्ञा दिएका छन् । तर, अहिले अध्यादेश फिर्ता हुँदैमा ओली र प्रचण्ड समूहबीचको विवाद मिलिसकेको मान्नु हुँदैन । यो विवाद थप अगाडि कसरी बढ्ने हो, त्यो चाहिँ हेर्न बाँकी छ ।

प्रतिक्रिया