अन्ततः ओली–दाहालबीच सहमति, २६ भदौअनुसार अघि बढ्ने

काठमाडौं । अन्ततः सत्ताधारी दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति भएको छ । दुई अध्यक्षबीच २६ भदौको निर्णयअनुसार अघि बढ्ने सहमति भएको हो ।

दुई अध्यक्षबीच दिउँसो प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । सो सहमतिका बारेमा उनीहरुले स्थायी कमिटी सदस्यहरुलाई समेत जानकारी गराएका छन् ।

एक सदस्यका अनुसार ओली–दाहालबीच मंगलबार जारी भएको अध्यादेश र विशेष अधिवेशन माग गर्ने प्रस्ताव पनि फिर्ता गर्ने सहमति भएको छ ।

यसअघि कार्यकारी अध्यक्ष दाहालले गत २८ कात्तिकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय सचिवालयमा पेश गरेका थिए भने उक्त प्रतिवेदनलाई ‘काउन्टर’दिने गरी ओलीले पनि १३ मंसिरको सचिवालय बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए । सोही दुई प्रतिवेदन फिर्ता लिने सहमति दुई अध्यक्षबीच भएको हो ।

यो सहमतिसँगै ओली–दाहाल पुनः २६ भदौतिरै फर्किने भएका हुन् । त्यसबेलाको निर्णयमा ओली सरकार सञ्चालमा केन्द्रित हुने र दाहाल पार्टी सञ्चालनमा केन्द्रित हुने भन्ने छ ।

सरकारका सबै निर्णय सचिवालयमा छलफल गरेर मात्र गर्नेलगायतका निर्णयहरु पनि बुँदागत रुपमा राखिएको छ । तर, ओलीले एक्लौटी निर्णय लिँदै गरेको राजनीति नयुक्तिबारे भने अहिले केही पनि खुलाइएको छैन ।

प्रतिक्रिया