रावा बैंक र महालक्ष्मी नगरपालिकाबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सम्झौतापछि नगरपालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्नेछ र सोहीे उद्यमीहरूलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नुनपर्ने भन्ने भ्रम रहेकोले कार्यान्वनयमा चुनौती थपिएको बताए । नगरप्रमुख रामेश्वर श्रेष्ठले यो कर्जाले युवाशक्तिलाई उत्पादनसँग जोडी बेरोजगारी न्यूनीकरण हुने बताए ।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले प्राथमिकताका साथ सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए ।
कृषि तथा सामाजिक बैंकिङ विभागका प्रमुख राज्यलक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया