‘हिन्दु राष्ट्र पुर्नस्थापना नेपाली कांग्रेसको लाइन हैन’ नेता प्रकाशमान सिंह

जनकपुरधाम । हिन्दु राष्ट्र पुर्नस्थापना नेपाली कांग्रेसको लाइन नभएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताउपनि पार्टीको लाइन हिन्दु राष्ट्रका पक्षमा नरहेको बताएका हुन् ।

हिजो कांग्रेसले देश्व्यापी रुपमा गरेको प्रदर्शनमा महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका सवालमा जनमत संग्ह गर्नुपर्ने बताएका थिए । ‘कुनै नेताले व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन । हामी आफैंले ल्याएको परिवर्तनविरुद्व जान सक्दैनौं ।’ मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

नेता सिंहले कांग्रेसकै नेतृत्वमा संविधान जारी भएको र संविधानमा प्रदत्त अधिकारलाई सुरक्षित राख्दै अगाडि बढ्न पार्टी तयार रहेको बताए । ‘आफैंले ल्याएको परिवर्तन उल्टाउन सकिन्न । नेपाली कांग्रेस संघीय गणतन्त्र, समावेशीता, धर्म निरपेक्षप्रति प्रतिबद्ध छ ।’

सरकारले लोकतान्त्रिक मूल्यमान्यतालाई बेवास्ता गरी मुलुकमा सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै उनले संघीयता संस्थागत गर्नुपर्नेमा प्रधानमन्त्री स्वयंले प्रदेश सरकार संघको प्रशासनिक एकाइ भएको अभिव्यक्ति दिने गरेको बताए ।

उनले नेकपा नेतृत्वको सरकार भने संघीय गणतन्त्रको मर्म विपरीत चलेको जिकिर गरे। प्रधानमन्त्री स्वयंले प्रदेशलाई संघीय सरकारको प्रशासनिक केन्द्र भनेर अभिव्यक्ति दिनु संघीयताको उपहास भएको उनको ठहर छ ।

सिंहले सरकार भ्रष्टाचारमा रुम्लिएको, जनताभन्दा आफ्नो स्वार्थ पूर्तिमा लागेकाले कांग्रेस सडकमा आउनु परेको बताए । ‘अब हामी सरकारको भ्रष्टाचारी र सर्वसत्तावादविरुद्व निरन्तर सडक तताउँछौं ।’ सिंहको भनाई छ ।

प्रतिक्रिया