संबैधानिक परिषद् बैठकमा सभामुख नजाँदा प्रधानमन्त्रीलाई सकस, पुनः ५ बजे बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संबैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएका छन् । संवैधानिक परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले बोलाएको परिषद्को बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि परिषद्को बैठक प्रभावित बनेको छ । प्रधानमन्त्रीले विहान बाेलाएकाे बैठक आजै बेलुकी ५ बजे पुनः बाेलाएका छन् ।

परिषद्का अध्यक्ष ओलीले आज बिहानका लागि बोलाएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुग्दा बैठकले औपचारिकता नै पाएन । प्रधानमन्त्रीले पर्याप्त तयारी र छलफलबिना बैठक बोलाएको आरोप लगाउँदै सभामुख सापकोटा अनुपस्थित भएको बुझिएको छ ।

सापकोटाले संवैधानिक परिषद्को बैठकमा नेकपाको अंकगणित छिराएको बालुवाटार स्रोतको भनाई छ । पार्टीभित्रको विवादमा सभामुखले प्रधानमन्त्रीलाई साथ नदिएको देखिएको छ । सत्तारुढ दलभित्रको आन्तरिक किचलोले यतीबेला सरकारका सबै निकायका काम कारवाही प्रभावित छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको इशारामा सभामुख सापकोटा परिषद् बैठकमा अनुपस्थित भएको ओली निकट नेताहरुको आरोप नै छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा उपसभामुख सदस्य रहने व्यवस्था छ ।

अध्यक्ष र चारजना सदस्य उपस्थित भए मात्रै गणपुरक संख्या पुगेको मानिन्छ । अहिले उपसभामुख नरहेको अवस्थामा सभामुख पनि नजाँदा गणपुरक संख्या नपुगेको हो । कांग्रेसका केही नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभामुख नियुक्त नगरीकन बैठकमा सहभागी हुन नहुने सल्लाह दिइरहेका छन् ।

संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिबारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले यसअघि आइतबार परिषद्को बैठक डाकेका थिए । उक्त बैठकमा कांग्रेस सभापति नआउने भएपछि बैठक बस्न सकेन । त्यसपछि आज बैठक डाकिएको थियो । बेलुका ५ बजेकाे बैठकमा पनि सभामुख वा प्रमुख प्रतिपक्षी दलका नेता सहभागी नभए परिषद्का अध्यक्षलाइ संकट पर्न सक्छ ।

संवैधानिक परिषद्सम्बन्धी ऐनअनुसार बैठक बस्न परिषदका ६ सदस्यमध्ये कम्तीमा ५ जना उपस्थित हुनुपर्छ । निर्वाचन नभएका कारण उपसभामुख पद रिक्त छ । त्यसैले परिषद्का कुनै पनि सदस्य अनुपस्थित भएमा बैठक बस्न सक्दैन । दलहरुबीच भागबण्डा नमिल्दा लामो समयदेखि संवैधानिक निकायमा पदपूर्ति हुन सकेको छैन । विभिन्न संवैधानिक निकायमा प्रमुख र सदस्य गरी ४५ पद रिक्त छन् ।

प्रतिक्रिया