महामन्त्री शशांककाे उद्घाेष : ‘सभापतिकाे उम्मेद्वार काेइराला परिवारबाटै’

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइरालाले अबकाे १४ औं महाधिवेशनमा सभापतिकाे उम्मेद्वार काेइराला परिवारबाटै एक जना हुने उद्घाेष गरेका छन् । सरकारविरुद्धको विरोध प्रदर्शनका लागि विराटनगर पुगेका शशांकले सोमबार विराटनगरमा पत्रकारहरुसँग कुराकानीका क्रममा यस्ताे धारणा राखेका हुन् ।
उनले डा. शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरेर नै एक जना कांग्रेस सभापतिको उम्मेद्वार बन्ने सहमति भएकाे बताए । यस्तै उनले महाधिवेशन फागुनमै गर्नुपर्ने धारणा राखे । भारतको विहारमा कोरोना संकटकै बेला निर्वाचन भएकाे उदाहरण दिँदै उनले कांग्रेसको महाधिवेशन पर धकेल्न नहुने बताएका हुन् ।
यद्यपी उनले फागुनमा महाधिवेशन सम्भव नरहेको औंल्याउँदै जेठमा गर्नुपर्ने बताए । पार्टीको क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाउनै तीन महिना भएका कारण फागुनसम्ममा क्रियाशील सदस्यताको अन्तिम टुंगो लगाएर जेठमा महाधिवेशन गराउनुपर्ने उनकाे तर्क छ ।
यस्तै महामन्त्री शशांकले हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउने नभए भन्दै जनताले फ्यालेको राजतन्त्र कुनै पनि हालतमा अब नफर्किने दाबी गरे । उनले भनेका छन्- ‘हिन्दुराष्ट्र भनेको राजतन्त्र फर्काउने हैन, राजतन्त्र फर्किँदैन पनि ।’








