ओली सहभागी हुने भएपछि आजको स्थायी कमिटी बैठक बालुवाटारमै

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएपछि जारी स्थायी कमिटीको आजको बैठक बालुवाटारमै बस्ने भएको छ ।

यसअघि गत २१ मंसिरबाट शुरु भएको बैठकले धुम्बाराहीमै दिउँसो १ बजेका लागि बैठकको समय तय गरेको थियो । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलका अनुसार अध्यक्ष एवम् प्रधानमन्त्री ओली पनि सहभागी हुने भएपछि आजको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमै राखिएको हो । ‘जारी स्थायी कमिटीको बैठक बालुवाटारमै बस्ने भएको छ । त्यहाँ प्रधानमन्त्री पनि सहभागी हुँदै हुनुहुन्छ’, गजुरेलले मकालु खबरसँगको संक्षिप्त कुराकानीमा भनेका छन्, ‘सबै सदस्यहरुलाई जानकारी गरिएको रहेछ । मलाई पनि जानकारी आएको थियो ।’

गत २१ गतेको बैठकलाई कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मात्रै सम्बोधन गरेका थिए । आज भने दुवै अध्यक्षले सम्बोधन गर्ने भएका छन् ।

ओलीले प्रचण्डले यसअघि सचिवालयमा पेश गरेको प्रतिवेदन आरोपपत्र भएको भन्दै फिर्ता हुनुपर्ने बताउँदै आएका छन् भने प्रचण्डले फिर्ता नहुने अडान दोहोर्याउँदै आएका छन् ।

पार्टी विवादका विषयमा दुई अध्यक्ष मिल्नुपर्ने भन्दै शनिबार स्थायी कमिटी सदस्य शंकर पोखरेलले अध्यक्ष दाहाललाई भेटेका थिए । तत्पश्चात आजै नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्गले पनि दाहाललाई भेटेका थिए । उनले प्रधानमन्त्री ओली चिन्तित रहेको भन्दै ‘तपाईँ सकारात्मक हुनुपर्यो’ भन्दै भनेका थिए ।

प्रतिक्रिया