‘प्रधानमन्त्रीले आफैँलाई सर्वेसर्वा ठान्नहुन्छ तर, बैठकसँग डराउनुहुन्छ’

काठमाडौं । नेकपा विवाद ‘फुट’को सङ्घारबाट पछाडि फर्किन सकेको छैन । गत २१ गतेदेखि शुरु भएको स्थायी कमिटीको बैठकले पनि विद्यमान विवाद समाधानको कुनै बाटो पहिल्याउन सकेको छैन । खासगरी केन्द्रीय सचिवालयभित्रै प्रष्टै दुई कित्तामा विभाजित नेताहरुको मुख हेर्दा नेकपा फुटको सङ्घारमा पुगिसकेको यथार्थ आकलन गर्न जोकोहीले पनि सजिलै सक्छ ।

गत २१ गतेकै दिन ४३ जना स्थायी कमिटीका सदस्यहरुलाई दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन बाँडिएको छ । तत्पश्चात् भोलिको बैठकमा सदस्यहरुको राय सुन्ने कार्यसूची तय गरिएको छ । तर, बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली उपस्थित भएनन् भने के हुन्छ ? अहिले सबैले यसबारे चासो राख्न थालेका छन् ।

बैठकको मिती एक दिन मात्रै बाँकी छँदा ओलीले उपस्थिति जनाउने खालको कुनै सुइँको फ्यालेका छैनन् । तर, कतिपय स्थायी कमिटीहरुले भने ओलीको अनुपस्थितिमै भएपनि बैठक अगाडि बढ्ने बताउँदै आएका छन् । त्यसो त बैठक प्रारम्भको दिन पनि उपस्थित नभएका अध्यक्ष ओली पुनः उपस्थित भएनन् भने पार्टी अगाडि कसरी बढ्छ भन्ने सवालमा स्थायी कमिटी सदस्य मातृका यादवले आफूलाई प्रधानमन्त्री उपस्थित हुन्छन् भन्ने विश्वास लागेको बताएका छन् । यद्यपि प्रधानमन्त्री पार्टी कमिटीका बैठकसँग डराउने गरेको नेता यादवको टिप्पणी छ । ‘प्रधानमन्त्री पार्टी कमिटीको बैठकसँग डराउनुहुन्छ । सबैभन्दा नराम्रो यो नै हो । जब अध्यक्षजस्तो मान्छे नै बैठकमा अनुपस्थित भएपछि बैठक कसरी चल्छ ? सरकार कसरी चल्छ ? पार्टी कसरी चल्छ ?’ पूर्वमन्त्रीसमेत रहेका सदस्य यादवले भनेका छन् ।

यस्तै नेता यादवले प्रधानमन्त्रीले पार्टीभन्दा आफू माथि रहेको ठान्ने गरेको पनि बताउँछन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीले पार्टीलाई भन्दा आफूलाई माथि ठान्नुहुन्छ । उहाँले पार्टी निर्णय मान्नुहन्न, सबै म आफैँ हो भन्ने भावना छ उहाँमा । यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताविपरीत हो ।’

विवाद समाधानका लागि कार्यदल बनाउनु गलत हो
नेता यादवले विवाद समाधानका लागि कार्यदल बनाउनु गलत भएको टिप्पणी गरेका छन् । भोलिको बैठकमा विवाद समाधानका लागि कार्यदल बनाउने प्रस्ताव आयो भने स्वीकार हुन्छ ? भन्ने प्रश्नमा नेता यादव भन्छन्, ‘कुनै पनि विवाद समाधानका लागि कार्यदल बनाउनु नै गलत हो, पहिलो कुरा त । किन कार्यदल नै बनाउनुपर्यो ? यत्तिका धेरै पार्टी कमिटीहरु छन् । छलफल गरौँ न, पार्टीभित्र देखिएको विवादको समाधान पार्टी कमिटीको बैठकहरुले नै निकाल्नुपर्छ । मेरो भनाइ त्यही हो, विवाद समाधान गर्ने नाउँमा कार्यदल बनाउनु हुँदैन ।’

यसअघि नेता यादवले भनेका छन्, ‘विवाद सचिवालयले मिलाउन सकेन, स्थायी कमिटीमा आयो । अब स्थायी कमिटीले पनि मिलाउन सकेन भने केन्द्रीय कमिटीमा जान्छ । के भयो र ?’

समस्याको समाधान स्थायी कमिटीले नै गर्छ
तर, यता अर्का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने विद्यमान नेकपा विवादको समाधान स्थायी कमिटीले नै गर्ने बताएका छन् । मकालु खबरसँगको अन्तरवार्ताका क्रममा नेता गजुरेलले भनेका छन्, ‘यो समस्याको समाधान स्थायी कमिटीलेनै गर्छ, किनकी पहिले पनि समस्याको समाधान स्थायी कमिटीले नै गरेको थियो ।’

गजुरेलले भोलिको बैठकमा प्रधानमन्त्रीको उपस्थिति रहने कुरामा आफू ढुक्क रहेको पनि बताएका छन् । २१ गते शुरु भएको बैठकलाई पत्रमार्फत् मान्यता दिइसकेको बताएका उनले थप भनेका छन्, ‘जारी स्थायी कमिटीको शुरुको दिन २१ गतेको बैठकलाई पनि प्रधानमन्त्रीज्यूले मान्यता दिइसक्नुभएको छ । भोलिको बैठकमा उहाँ आउनुहुन्छ भन्ने कुरामा हामी विश्वस्त छौँ । उहाँ आउनुहुन्छ ।’

यसैबीच उनले दुई अध्यक्षबीचको मिलन नै विवाद समाधानकोे कडी भने नभएको बताएका छन् । तल्लो पार्टी कमिटीमा पनि समस्या देखिन थालेको उदाहरण दिँदै नेता गजुरेलले भनेका छन्, ‘दुई अध्यक्ष मिल्नु समस्याको समाधान होइन ।’

प्रधानमन्त्री म नै सर्वेसर्वा हुँ भन्नुहुन्छ, बैठकसँग डराउनुहुन्छ
प्रधानमन्त्री बैठकमा आउन नमानेको प्रसङ्गमा नेता यादव भन्छन्, ‘प्रधानमन्त्रीसँग म नै सबैथोक हो भन्ने भ्रम छ । उहाँ सामूहिकतालाई मान्नुहुन्न । उहाँलाई लाग्छ कि, अहिलेको आन्दोलन मैले नै धानेको छु । सरकारै मैले मात्रै बनाएको हुँ भन्ने सर्वेसर्वा दिमाग हावी छ । उहाँले पार्टीका बैठकहरुलाई बेवास्ता गर्नुको कारण पनि उही नै हो ।’

नेता यादवसँग प्रधानमन्त्री बढी व्यक्तिवादी दखिएको तर्क छ । प्रधानमन्त्रीले सबैलाई चुनावै मैले नै जिताइदिएको हुँ भन्ने भावनासमेत पालेको आरोप नेता यादवको छ । ‘जस्तो मेरो क्षेत्रमा मैले जितेँ, के मलाई प्रधानमन्त्रीले जिताइदिनुभएको हो त ?’ नेता यादवको प्रतिप्रश्न छ ।

वर्तमान सरकारलाई जनताले देशको बागडोर सम्हाल्ने सुवर्ण मौका दिएको बताएका उनले भने, ‘सबैभन्दा पहिले नेतृत्व नै सकारात्मक हुनुपर्छ ।’

प्रतिक्रिया