‘…अहिले पनि विवादको समाधान स्थायी कमिटीले नै गर्छ’

काठमाडौं । विद्यमान नेकपा विवाद ‘फुट’को सङ्घारबाट फर्किएको छैन । जारी नेकपा स्थायी कमिटी बैठकले पनि विवादलाई समाधानको सङ्घारतिर फर्काउने चेष्टा गरेको छैन । केन्द्रीय सचिवालमै स्पष्ट दुई धारमा विभाजित नेकपा यतिबेला सत्तास्वार्थमा चुर्लुम्मै डुबेको अनुमान लगाउन जोकोहीलाई पनि त्यति सकस हुँदैन ।

खासगरी दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखा परेका तिक्तताले नेकपा ग्रस्त छ । ओली–दाहाल आफूलाई कसरी शक्तिशाली तुल्याउने भन्नेबारे दिनरात सोचिरहेका छन् । उनीहरुले आ–आफ्ना निकटस्थहरुसँगको भेटघाट, छलफल तथा परामर्शलाई तीव्र बनाएका छन् ।

त्यसो त जारी स्थायी कमिटी बैठक पुनः २८ गते बस्दैछ । गत २१ गतेको प्रारम्भको दिनको बैठकमा पत्र मात्रै पठाएका अध्यक्ष ओलीले पुनः उपस्थिति जनाउने कुनै खालको सुइँको दिएका छैनन् ।

ओलीनिकटका एक स्थायी कमिटी सदस्यले मकालु खबरसँग गत २४ गते बताएअनुसार ओली आफ्नो गृहकार्यमा सफल भए भने २८ गतेको बैठकमा उपस्थित हुनेछन् । ती सदस्यका अनुसार ओलीले मुख्यगरी तीन रणनीति अपनाएका छन् । पहिलो–अर्का अध्यक्ष दाहालसँगै सहमति गर्ने, दोस्रो– स्थायी कमिटीका सदस्यहरुबाट बहुमत सदस्य आफ्नो कित्तामा उभ्याउने र तेस्रो– मध्यमार्गीय नेताहरुलाई आफ्नो पक्षमा पार्ने र उनीहरुबाट समस्याको समाधान खोज्ने । यो बीचमा गत २४ मङ्सिरमा ओली–दाहालबीच ‘वान् टू वान्’वार्ता भएको थियो । उक्त वार्तामा ओलीले दाहाललाई वरिष्ठ नेता माधवकुमार नेपालसँगको समीकरणलाई तोड्न अनुरोध गर्दै भनेका थिए, ‘नेपाल धोकेवाज हुन्, समीकरण तोड्नुस् ।’ जवाफमा दाहालले भनेका थिए, ‘उहाँसँग मैले पहिल्यैदेखि सहकार्य गर्दै आएको छु । तपाईँले अहिले नै धोका दिनुभयो, पछिको कुरा के गर्नु ?’

त्यसो त अब नेकपा विवाद मिलान विन्दु कहाँ भेटिएला ? के स्थायी कमिटीले विवाद समाधान गर्न सक्ला ? यति २८ गते पनि अध्यक्षको अनुपस्थिति देखियो भने पार्टी कसरी अगाडि बढ्छ ? यी यावत् प्रश्नहरुको जवाफ हामीले नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलसँग खोजेका छौं ।

तपाईँले आफूलाई कुनै समीकरण वा कुनै गुटमा नभएको दावी गर्दै आउनुभएको छ, तपाईँकै कोणबाट हेर्दा अहिलेको नेकपा विवाद कहाँनेर कसरी मिल्छ ?
साझा प्रस्ताव तयार हुन्छ अनि समाधान हुन्छ । पहिलेको समस्या पनि स्थायी कमिटीले नै समाधान गरेको हो, अहिलेको समस्याको समाधान पनि स्थायी कमिटीले नै गर्छ । साझा प्रस्ताव तयार गरेर हुन्छ कि, जसरी हुन्छ स्थायी कमिटीले समाधान गर्छ । किनकी, विगतमा पनि यस्तै भएको हो ।

साझा प्रस्ताव तयार हुने सम्भवाना छ र ? अध्यक्ष प्रचण्डले त साझा प्रस्ताव बन्ने सम्भावना कम छ भन्नुभएको छ नि त ?
प्रतिवेदन राम्रो र स्वीकार्य हुनुपर्यो । राम्रो प्रतिवेदन भयो भने सबैले स्वीकारिहाल्छ नि । तर, राम्रो प्रस्ताव आउनुपर्यो । राम्रो प्रस्ताव आएको खण्डमा त प्रचण्डजीले पनि स्वीकार्नुहुन्छ, ओलीजीले पनि स्वीकार्नुहुन्छ । अहिलेको विवाद समाधानको राम्रो पाटो भनेको साझा प्रस्ताव नै हो र यसको सम्भावना छ । साझा प्रस्ताव बन्न सक्छ ।

बन्छ भनेर ढुक्क बस्ने स्थिति हो ?
छलफल गर्ने विषय हो । बन्न पनि सक्छ । किनकी, विवाद मिलानको सहज बाटो भनेको साझा प्रस्ताव पनि हो । अथवा छुट्टै खालको नयाँ प्रस्तावमार्फत् पनि समस्याको समाधान गर्न सकिन्छ ।

उसो भए २८ गते नयाँ प्रस्ताव बन्छ ?
त्यो सम्भावना छ । जसरी पनि सहमतिय दिशातिर जानुपर्ने भएको छ । त्यसो हुँदा यसको सम्भावना छ । नयाँ प्रस्ताव बन्न सक्छ ।

२८ गते पनि प्रधानमन्त्री उपस्थित हुनुभएन भने के गर्नुहुन्छ ?
मलाई जहाँसम्म लाग्छ, उहाँ उपस्थित हुनुहुन्छ । २१ गते शुरु भएको बैठकलाई पनि प्रधानमन्त्रीज्यूले मान्यता दिइसक्नुभएको हो । उहाँ आफैँ उपस्थित नभए पनि पत्र त पठाउनुभयो नि त । त्यसो हुँदा प्रधानमन्त्रीज्यूले जारी बैठकलाई मान्यता दिइसक्नुभएको छ । उहाँ आउनुहुन्छ भन्ने विश्वास छ । उहाँ आइसकेपछि औपचारिक रुपमा बैठक अगाडि बढ्छ ।

यदि उहाँ आउनुभएन भने बहुमतले निर्णय गर्ने सम्भावना कति देख्नुहुन्छ ?
पहिलो कुरा त उहाँ आउनुहुन्छ भन्नेमै म विश्वस्त छु । बैठकलाई उहाँले २१ गते नै मान्यता दिइसक्नुभएकोले उहाँ आउनुपर्छ र आउनुहुन्छ भन्नेमा छु म । त्यसपछि आवश्यक छलफल अगाडि बढ्छ । उहाँ आइसकेपछि सबै कुरा हुन्छ ।

प्रधानमन्त्रीले पुनः २६ भदौतिरै फर्कौँ भन्नुभयो, दाहाल–नेपाल समीकरणबाट उहाँ हच्किनुभएको हो ?
२६ भदौतिर फर्किएर त हुँदै हुँदैन नि, कसरी हुन्छ २६ भदौतिर फर्किएर । किनकी, भदौ २६मा भएका निर्णय खोइ कार्यान्वयन भयो त ? भएन नि, त्यसो हुँदा त्यतातिर फर्किनहुन्न । अब त नयाँ तरिकाले समस्याको समाधान गर्नुपर्यो । अनि पो अगाडि बढ्न सकियो त । त्यसैले २६ भदौतिर फर्किन चाहिँ हुँदैन । विवाद समाधान हुँदैन ।

पछिल्लो समय तपाईँलगायत केही नेताहरुको नयाँ समीकरण बनेको छ भन्ने चर्चा छ नि ? यो वास्तवमा के हो ?
होइन, त्यस्तो होइन । हामीले कुनै समीकरण वा गुट बनाएका छैनौं । हामी एकताको पक्षमा छौं । हामी चाहिँ राम्रो होस् भन्ने चाहन्छौँ । अब कुनै पनि जुक्तिबाट विवाद नमिलेको खण्डमा त जसरी हुन्छ, त्यसैगरी अगाडि बढेर विवाद समाधानको दिशा रोज्नैपर्छ । यदि त्यसो भएको खण्डमा हामीले विवाद मिलाउने कुरा हो ।

त्यसोभए भोलि गएर कुनै पनि हालत र सूत्रबाट नेकपा विवाद नमिलेको खण्डमा तपाईँहरुले मिलाउन सक्नुहुन्छ ?
हाम्रो सल्लाह त्यही हो । अहिल्यै मिलाउन सकिन्छ भनेर ठोकुवा त कसरी गर्नु । त्यसो भनिहाल्नु हुँदैन । तर, त्यो खालको कदम आवश्यक पर्यो भने चाल्नुपर्छ । हामी एकता नै चाहन्छौँ ।

उसोभए अबको एकताको आधार के हो ?
आधार त अब जनता हुन्, कार्यकर्ता हुन्, सबै कुरा हुन् ।

दुई अध्यक्ष मात्रै मिलेर समस्याको समाधान हुँदैन भनेर भन्न खोज्नुभएको हो ?
त्यसरी कहाँ हुन्छ समस्याको समाधान ? समस्या यहाँ दुई अध्यक्षमाथि मात्रै छैन नि, समस्या तल्लो कमिटीहरुमा पनि देखिइसकियो । दुई अध्यक्षबीचको द्वन्द्वले मात्रै कहाँ समस्या भएको हो त ? समस्या त यहाँ सबैतिर देखियो नि त ।

कतिपय नेकपाकै सांसदहरुले त अहिलेको समस्याको मुख्य जड त दुई अध्यक्ष नै हो र खासगरी प्रधानमन्त्री नै भनेर किटान पनि गर्नुभएको छ नि ?
भन्ने कुरा अर्कै हो, भएको कुरा अर्कै हो । मैले कसैको पक्ष र विपक्षमा कुरा गर्दिनँ, म व्यक्तिपट्टी पनि जादिनँ । तर, समस्या भनेको दुई अध्यक्षमा मात्रै होइन । अरु सबैतिर पनि छ । त्यसैले उहाँहरु मात्रै मिल्नु भनेको समस्याको समाधान होइन, सबै कुरालाई मिलाउँदै जानुपर्ने हुन्छ ।

प्रतिक्रिया