साकेला खुल्ला कविता प्रतियोगिता : उत्कृष्ट ३० छान्दै सङ्घ, ५ पुषभित्र भिडिओ सामग्री उपलब्ध गराउनुपर्ने

काठमाडौं । ‘साकेला खुल्ला कविता प्रतियोगिता’का लागि ५७ वटा कविता प्राप्त भएको छ । किरात राई लेखक सङ्घद्वारा आयोजित प्रतियोगितामा देश तथा विदेशबाट विभिन्न समुदाय तथा भाषाका ५७ वटा कविता प्राप्त भएको सङ्घकी महासचिव तेजमाया दुमीले जानकारी दिइन् ।

महासचिव दुमीका अनुसार सङ्घले आउँदो आइतबार (२८ मंङ्सिर)मा उत्कृष्ट ३० कविता छनौट गर्नेछ भने ५ पुषभित्रमा सम्बन्धित सर्जक/कविले बाचन गरेको भिडिओ सामग्री [email protected] मार्फत् उपलब्ध गराउनुपर्ने छ । ‘५७ वटा कवितामध्येबाट हामीले २८ गतेसम्ममा उत्कृष्ट ३० छान्छौँ’, महासचिव दुमीले भनिन्, ‘त्यसपछि ५ पुषभित्रमा उहाँहरुले बाचन गरिएको भिडिओ पठाउनुपर्ने हुन्छ ।’

सङ्घका अनुसार अन्तिम चरणबाट छानिएका पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त प्रतिस्पर्धीहरुले क्रमसः २०, १५, १० र ५ हजार नगदको साथमा मेडल, पुस्तक र प्रमाण पत्र प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार ३ जनालाई प्रदान गरिनेछ ।

पुरस्कारको प्रायोजन भने ख्याति प्राप्त कलाकारहरुले गरेका छन् । प्रथम पुरस्कार गायक राजेशपायल राईले प्रायोजन गरेका छन् । यसैगरी दोस्रो र तेस्रो पुरस्कार प्रायोजन क्रमसः अभिनेता दयाहाङ राई र हाँस्यकलाकार विल्सन विक्रम राईले गरेका छन् । सान्त्वना पुरस्कारको प्रायोजन भने चाबहिलस्थित सत्कार क्याफे, भिमसेनगोलामा रहेको निशाना सहकारी, यलम्बर कृषि फर्म र कवि कविता राई गाउँलेले गरेका छन् ।

यसैगरी विजेताहरुलाई गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार सम्वृद्धि राईको तर्फबाट किराती पहिचानजन्य विशेष उपहारसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

‘अन्य विशेष कार्यक्रमहरु पनि हुने’
११ पौषमा उद्घाटन हुने समारोहबीच अन्य विशेष तथा समसामयिक विषयवस्तु केन्द्रित बहस/विमर्श कार्यक्रम पनि हुने सङ्घले जनाएको छ ।

जसअन्तर्गत किरात प्राज्ञिक सत्ता निर्माणबारे वरिष्ठ साहित्यकार भूपाल राई, साहित्यमा आदिवासी साहित्यकारहरुको भूमिकाबारे किरालेसंघका संस्थापक अध्यक्ष राजन मुकारुङ, जनगणनामा जनसङ्ख्याको राजनीतिबारे किरालेसङ्घका पूर्व अध्यक्ष प्रकाश राई र साकेलाको गरिमाबारे किरालेसङ्घका संस्थापक महासचिव भोगिराज चाम्लिङको ४५/४५ मिनेटको ‘टपीक् अनालाइसीस्’ रहने छ ।

कार्यक्रमलाई विद्यमान परिस्थिति र प्रविधिको प्रचूर उपयोग गर्ने उद्देश्यस्वरुप जूममार्फत् गरिने छ भने कार्यक्रमको जूमलिङ्क कार्यक्रम हुनुपूर्व साझेदारी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया