साकेला खुल्ला कविता प्रतियोगिता गर्दै किरात राई लेखक सङ्घ, सहभागी कसरी हुने ?

काठमाडौं । किरात राई लेखक सङ्घले ‘साकेला खुल्ला कविता प्रतियोगिता’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम किरात राई जातिको चाड साकेलाको अवसरमा गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रम साकेलालाई अझ स्थापित गराउने ध्येयका साथ किरालेसङ्घ केन्द्रीय कार्यसमिति, काठमाडौंले आयोजना गरेको हो ।

आगामी १२ पौषमा हुने प्रतियोगिताका लागि बढीमा दुई सय शब्दको कविता लेखेर २५ मंसिरभित्रमा सङ्घको आधिकारिक इमेल ठेगाना [email protected] मार्फत् पठाउनुपर्ने आयोजकले जनाएको छ । साकेलाबाहेक अन्य विषयवस्तुमा लेखिएको कवितालाई प्रतियोगितामा समावेश नगरिने सङ्घका अध्यक्ष खुक्सङ खम्बु राईले जानकारी दिए । अध्यक्ष राईकाअनुसार कविता मातृभाषा, नेपाली र अङ्ग्रेजी गरी तीन भाषामा लेख्न सकिने छ ।

प्राप्त कवितामध्येबाट पहिलो चरणमा उत्कृष्ट ३० छनौट गरिने छ । पहिलो चरण पार गरेका प्रतियोगीहरूलाई मात्र अन्तिम चरणमा प्रतिस्पर्धा गराइने पनि अध्यक्ष राईले बताए । उत्कृष्ट ३० भित्र पर्न सफल प्रतियोगीले आफ्नो कविता वाचन गरेको भिडिओ सामग्री ५ पौषभित्र आयोजकलाई पठाइसक्नुपर्ने बताइएको छ ।

सङ्घका अनुसार अन्तिम चरणबाट छानिएका पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त प्रतिस्पर्धीहरुले क्रमसः २०, १५, १० र ५ हजार नगदको साथमा मेडल, पुस्तक र प्रमाण पत्र प्राप्त गर्नेछन् भने सान्त्वना पुरस्कार ३ जनालाई प्रदान गरिनेछ ।

पुरस्कारको प्रायोजन भने ख्याति प्राप्त कलाकारहरुले गरेका छन् । प्रथम पुरस्कार गायक राजेशपायल राईले प्रायोजन गरेका छन् । यसैगरी दोस्रो र तेस्रो पुरस्कार प्रायोजन क्रमसः अभिनेता दयाहाङ राई र हाँस्यकलाकार विल्सन विक्रम राईले गरेका छन् । सान्त्वना पुरस्कारको प्रायोजन भने चाबहिलस्थित सत्कार क्याफे, भिमसेनगोलामा रहेको निशाना सहकारी, यलम्बर कृषि फर्म र कवि कविता राई गाउँलेले गरेका छन् ।

यसैगरी विजेताहरुलाई गायिका मेलिना राई, अभिनेत्री एलिसा राई र कलाकार सम्वृद्धि राईको तर्फबाट किराती पहिचानजन्य विशेष उपहारसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

‘अन्य विशेष कार्यक्रमहरु पनि हुने’
११ पौषमा उद्घाटन हुने समारोहबीच अन्य विशेष तथा समसामयिक विषयवस्तु केन्द्रित बहस/विमर्श कार्यक्रम पनि हुने सङ्घले जनाएको छ ।

जसअन्तर्गत किरात प्राज्ञिक सत्ता निर्माणबारे वरिष्ठ साहित्यकार भूपाल राई, साहित्यमा आदिवासी साहित्यकारहरुको भूमिकाबारे किरालेसंघका संस्थापक अध्यक्ष राजन मुकारुङ, जनगणनामा जनसङ्ख्याको राजनीतिबारे किरालेसङ्घका पूर्व अध्यक्ष प्रकाश राई र साकेलाको गरिमाबारे किरालेसङ्घका संस्थापक महासचिव भोगिराज चाम्लिङको ४५/४५ मिनेटको ‘टपीक् अनालाइसीस्’ रहने छ ।

कार्यक्रमलाई विद्यमान परिस्थिति र प्रविधिको प्रचूर उपयोग गर्ने उद्देश्यस्वरुप जूममार्फत् गरिने छ भने कार्यक्रमको जूमलिङ्क कार्यक्रम हुनुपूर्व साझेदारी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया