प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर २८ गते संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
आइतबार बिहान ९ बजे परिषद्को बैठक बोलाइएको हाे । संवैधानिक नियुक्तिहरूको कार्यसूची राखेर बैठक आह्वान गरिएको एक सदस्यले जानकारी दिए ।
सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा मिल्न नसक्दा अहिले ४० भन्दा बढी पद रिक्त छन्, जसकारण संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् । राष्ट्रिय मानवअधिकार आयोगमा प्रमुखसहित चार आयुक्त खाली छन् ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख र २ आयुक्त, निर्वाचन आयोगमा २ आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४ आयुक्तका पद रिक्त छन् । यसैगरी राष्ट्रिय महिला आयोगमा अध्यक्ष र चार आयुक्त, राष्ट्रिय दलित आयोगमा अध्यक्ष र चार आयुक्त, समावेशी आयोगमा अध्यक्ष र तीन आयुक्त, आदिवासी तथा जनजाति आयोगमा अध्यक्ष र चार आयुक्त
मधेसी आयोग लगायतमा विभिन्न पदहरू खाली रहेका छन् ।








