हत्या-हिंसा छाडेर शान्तिपूर्ण मार्गमा आउन विप्लवलाई कांग्रेसको आग्रह

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हत्या-हिंसा छाेडेर शान्तिपूर्ण मार्गमा आउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आग्रह गरेकाे छ ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो आग्रह गरेको हाे । बैैठकले मोरङमा बर्बर ढंगले गरिएको शिक्षक हत्याको विरोध समेत गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार घटनामा संलग्नलाई कारवाहीकाे माग समेत गरिएकाे छ ।

दुई दिनअघि विप्लव समूहले सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेकाे थियाे । मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका-१ ५४ वर्षीय श्रेष्ठकाे शव जंगलमा फेला परेकाे थियाे । प्रतिबन्धित विप्लव समूहले घटनाकाे जिम्मा लिइसकेकाे छ ।

घटनाकाे भाेलिपल्ट बुधबार गृहमन्त्री रामबहादुर थापाले डाकेकाे केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको थियाे ।

गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी थिए । बैठकमा गृहमन्त्री थापाले विप्लव समूहले थप कदम चाल्न सक्ने भएकाले निगरानी बढाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया