चीनको चन्द्रमा कार्यक्रमकी २४ वर्षीया महिलाको चर्चा

काठमाडौं । चीनको सामाजिक सञ्जालमा चन्द्रमा खोज कार्यक्रम चाङ्ग-अ फाइभकी एकजना २४ वर्षीया महिला चर्चाको बिषय बनेकी छन् । वेनचाङ अन्तरिक्षयान प्रक्षेपण परिसरमा सबैभन्दा कान्छी अन्तरिक्ष कमाण्डर भएपनि झाउ चेङ्गयुलाई उनको कामप्रति सम्मान दर्शाउँदै ‘ठूली दिदी’ भन्ने गरिन्छ ।

चन्द्रमामा सफल आवतरण गरेको चाङ्ग-अ फाइभ चीनको पछिल्लो सात वर्षमा तेस्रो प्रक्षेपण हो । झाउ त्यो प्रक्षेपणको रकेट कनेक्टर प्रणालीकी प्रमुखको जिम्मेवारीमा थिइन् । उनले सानै उमेरमा गरेको कामले धेरैलाई आकर्षित गरेको छ ।  प्रयोगकर्ताहरूले उनलाई ‘विलक्षण’ भन्दै उनी देशका लागि ‘प्रेरणाको स्रोत’ रहेको भन्दै चर्चा गरिरहेका छन् ।ठट्टा भावमा कैयौँ मानिसहरूले त्यो उमेरमा आफूले गरेका काम तुलना गरेका छन् । यी युवतीप्रति मानिसहरूको चासो अत्याधिक भए पनि त्यसले उनलाई खासै प्रभाव पारेको छैन । वेवसाइट डुकाई गुइझाउ नेटका अनुसार आफ्नो काममा चर्चाले अवरोध नपुर्‍याओस् भन्दै अन्तर्वार्ताको लागि बारम्बार गरिएको प्रयासलाई उनले अस्वीकार गरेकी थिइन् ।

चिनियाँ चन्द्र भगवानको नाममा राखिएको चाङ्ग-अ-फाइभ मिशनको उद्देश्य चन्द्रमाको सतहबाट चट्टान सङ्कलन गरी चन्द्रमाको उत्पत्तिबारे अनुसन्धान गर्नु रहेको छ । सफल भएमा ४० वर्षभन्दा बढी समययता चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्रमा अभियान हुनेछ ।नोभेम्बर २३ मा सफल प्रक्षेपण गरिएको चाङ्ग-अ फाइभ मिशनमा संलग्न व्यक्तिको रूपमा चीनको सरकारी सञ्चारमाध्यमले चर्चा गरेपछि उनी चिनियाँ सामाजिक सञ्जाल वाइबोमा चर्चाको विषय बनिन् । अहिलेसम्म अमेरिका र सोभियत सङ्घले मात्रै चन्द्रमाबाट चट्टान पृथ्वीमा ल्याएका छन् ।

राष्ट्रपति सी जिनपिङले ‘राष्ट्रिय रूपान्तरण’को एउटा कदम बताएको उक्त मिशन अन्तरिक्षको महाशक्ति बन्न बेइजिङले गरिरहेको जोडबलको एउटा पाटो हो ।

चीनको लागि के अर्थ ?
चीनका लागि अन्तरिक्षको खोज उसको बढ्दो प्राविधिक क्षमता देखाउने र विश्व मञ्चमा आफ्नो शक्तिशाली भूमिका प्रस्तुत गर्ने माध्यम बनेको छ । सामाजिक सञ्जालमा त्यसले उनलाई ‘अन्तरिक्ष जगतमा अग्रमोर्चाकी सेना’ र ‘ठूली दिदी’ जस्ता शब्दावली प्रयोग गरिएको छ ।बीबीसीकी चीन मीडिया विश्लेषक केरी एलन भन्छिन- ‘पुरुषहरूको बाहुल्य रहेको देशको नेतृत्वका माझ पछिल्लो समय चीनले शक्तिशाली महिलाहरूलाई प्रस्तुत गरिरहेको छ ।’ गतवर्ष चीन आफ्नो एउटा मानवरहित अन्तरिक्ष यान चन्द्रमाको अहिलेसम्म नपुगिएको कुनामा अवतरण गर्न सफल भएको थियो । आउँदा केही दशकमा उसले चन्द्रमामै अध्ययन केन्द्र स्थापना गर्ने र मानिसलाई मङ्गल ग्रह पठाउने योजना बनाएको छ । –बीबीसी

प्रतिक्रिया