आठ महिनापछि खुल्दै चिडियाखाना, यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा बिहीबारदेखि खुल्ने भएको छ । नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी बिहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।

चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार गरिएको बताउँदै चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलले प्रवेश टिकटको डिजिटलाइजेसन गरिएको जनाकारी दिए । चिडियाखानामा प्रवेश गर्दा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ ।

भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा ७०० देखि ८०० व्यक्तिलाई मात्र प्रवेश दिने र त्यसपछि अवलोकर्ताको सङ्ख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै सङ्ख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था गरिएको छ । यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ। हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वन्यजन्तु छन् । अवलोकनका गर्न विदेशीका लागि ७५०, सार्क राष्ट्रका पाहुनाका लागि ५००, नेपालीलाई १५० र नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ९० शुल्क निर्धारण गरिएको छ ।

वार्षिक ११ लाख दर्शक अवलोकन गर्न आउने यहाँ प्रवेश शुल्कबाट नै वार्षिक १५ देखि १६ करोडसम्मको आर्थिक कारोवार हुने गरेको छ । अवलोकन गर्न आएका अवलोकनकर्ताबाट प्राप्त शुल्कबाट कर्मचारी व्यवस्थापन र जनावरलाई खानपानको व्यवस्थापन गर्दै आएको चिडियाखानामा विगत आठ महिना बढी समयदेखि आम्दानी शून्य भएपछि खर्च व्यवस्थापन गर्न समस्या भएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरद्वारा विसं १९८९ मा निजीरुपमा स्थापना गरिएको सदर चिडियाखाना विसं २०११ देखिमात्र सर्वसाधारणलाई खुला गरिएको थियो । चिडियाखाना २०५२ सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया