नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति परिषद्को बोर्ड बैठकबाट तय हुने

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले गण्डकी प्रदेशको पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री सुनारले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताउँदै कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गर्दै खेलक्षेत्रको विकास–विस्तार र संमृद्धिलाई कसरी लैजाने चुनौती र अभिभारा रहेको बताए ।

‘एक वर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ, कोरानाको परिबेस नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना गर्नेबाट बिचलित हुने थिएनौं । यद्यपि भब्यताको कुनै कमि नरहने गरि प्रतियोगिता गर्न आगामी राखेपको बैठकले उपयुक्त मिति तय गर्ने छ ।’ उनले भने ।

अन्तरक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा सञ्चालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि सञ्चालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।

कार्यक्रममा राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताए । ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भएको बताउँदै कोभिडको केन्द्र खेलकुद नवनोस् भन्ने कुरामा आफुहरु सचेत रहेको सिलवालले जनाए ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष सांसद जिवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा हुन नसक्ने धारणा राखे । नेपाल कबड्डी संघकी अध्यक्ष सांसद तुलसा थापा, युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, बागमती प्रदेशका सदस्य–सचिव सुर्य भण्डारीलगायत बिभिन्न संघका अध्यक्ष तथा महासचिवले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया