अष्ट्रेलियामा थपियो ३ महिना यात्रा प्रतिबन्ध, नेपाली विद्यार्थीपनि प्रभावित

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको भन्दै अष्ट्रेलियाले आफ्ना नागरिकलाई विदेश जान र विदेशी नागरिकहरुलाई स्वदेश फर्कन लगाउँदै आएको यात्रा प्रतिबन्ध अझै तीन महिनासम्म बढाएको छ । अष्ट्रेलियाले आगामी मार्च १७ तारिखसम्म यात्रा प्रतिबन्ध बढाएको हो ।

अष्ट्रेलियाका केन्द्रीय स्थास्थ्य मन्त्री जर्ज हन्टले वायोसेक्युरीटी इमरजेन्सी अवधिलाई थप तीन महिनासम्म बढाउने निर्णय भएको जानकारी दिएका छन् ।

अक्सफोर्डको कोरोना भाईरस खोप फाईजर चलनमा आए पनि अष्ट्रेलियन सरकारद्धारा कोभिड रोकथाम र नियन्त्रणका लागि गठित हेल्थ प्रोटेक्सन प्रिन्सिपल कमिटिले अझै यसको चुनौती कायमै रहेकाले यात्रा प्रतिबन्ध बढाउन आग्रह गरेको थियो ।
अष्ट्रेलियन सरकारले यसअघि घोषणा गरेको यात्रा प्रतिवन्धको समय डिसेम्बर १७ मा सकिँदै थियो । यात्रा प्रतिवन्ध सकिए लगत्तै देश विदेशबाट अष्ट्रेलिया आवतजावत गर्नेहरु यात्राका लागि तयारी गर्दै थिए ।

प्रतिवन्ध तीन महिना थपिएसँगै अब मार्च १७ अघि कुनै पनि अन्तर्राष्ट्रिय यात्री आउने या अष्ट्रेलियन नागरिकहरू कानुनले छुट दिएको बाहेक विदेश जाने कार्य रोकिने भएको छ । यसबाट ठूलो मात्रामा अष्ट्रेलिया अध्ययन गर्न जाने विदेशी विद्यार्थीसमेत प्रभावित हुनेछन् ।

यस प्रतिवन्ध अन्तर्गत ठूला पानी जहाजको अस्ट्रेलिया आवत जावत पनि अरू तीन महिनाका लागि बन्द हुने भएको छ । सरकारको पछिल्लो निर्णयबाट क्रुज यात्राका लागि तयार भएर बसेका कयैन पर्यटक पनि प्रभावित भएको अष्ट्रेलियन सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारले वायो सेक्युरीटी इमरजेन्सी कानून अन्तर्गत यात्रा प्रतिबन्ध लम्ब्याएको जनाएको छ । संघीय सरकारको यो प्रस्तावलाई राष्ट्रिय सुरक्षा कमिटिले अनुमोदन गरिसकेको छ । गभर्नर जनरल समक्ष पनि भोली बिहीबार पेश गरिनेछ । त्यहाँबाट स्वीकृत भएपछि यो कानूनका रुपमा लागू हुनेछ ।

अष्ट्रेलियनको स्वास्थ्यका लागि कोभिड फैलीन नदिन यो महत्वपुर्ण निर्णय भएको कार्यवाहक चिफ मेडिकल अफिसर प्रोफेसर पल केलीले बताएका छन् । यो निर्णय भएसँगै १७ मार्च २०२१ अगाडि कुनै विदेशी यात्री अष्ट्रेलिया आउन पाउने छैनन् ।

विदेशमा रोकिएका अष्ट्रेलियन नागरिकलाई विभिन्न राज्यको कोटा अन्तर्गत स्वदेश भने ल्याइनेछ । केही विद्यार्थीलाई पाईलट प्रोजेक्ट अन्तर्गत आगमनको स्वीकृति पनि दिइने छ । यसका लागि सरकारी निकायबाट पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने भनिएको छ ।

विगत दुई दिनदेखि अष्ट्रेलियामा कोभिडको केश शून्य छ । र यसलाई फैलन नदिन सरकार लागि परेको हो । यो निर्णयले भिसा लागेर बसेका कयौं नेपाली विद्यार्थीलगायत अन्य भिसामा विदेशमा रहेका प्रत्यक्ष प्रभावित हुने नेपालका शैक्षिक परामर्श व्यवसायीले बताएका छन् ।

‘अष्ट्रेलिया खुल्ने वित्तिकै उच्च शिक्षाका लागि जाने तयारी गरेका हज्जारौं विद्यार्थीहरु प्रभावित हुने भएका छन् । नेपाली विद्यार्थीको हकमा के गर्न सकिन्छ सहजीकरणका लागि पहल गर्न आवश्यक छ ।’ इक्यान संबद्ध एक शैक्षिक परामर्श व्यवसायीले भने ।

प्रतिक्रिया