पिपिई र मास्क लगाएर सहकारीको १६ लाख बराबर चोरी

धरान । धरानको एक सहकारीमा झण्डै १६ लाख नगद चोरी भएको छ । धरान उपमहानगरपालिका वडा नं ६ पानवारीस्थित निसान वचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार सहकारीबाट लकर फुटाएर १५ लाख ९८ हजार चोरी भएको छ । आज बिहान करिब २ बजेको समयमा चोरी भएको देखिएको इप्रका धरानले जानकारी दिएको छ ।

इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले सहकारीको ग्रिल फोडेर झ्यालबाट चोर कार्यालयमा प्रवेश गरेको पाइएको बताए । ‘चोरहरु ३ जनाको समुहमा थिए । हामीले कुकुरसमेत लगेर अनुसन्धान गरिरहेका छौं ।’ डिएसपी बस्नेतले भने ।

सहकारीको सिसिटिभी फुजेटमा झ्यालको ग्रिल फुटाएर चोरहरु कार्यालयमा प्रवेश गरेको देखिएको सहकारीका अध्यक्ष चन्द्र सुवेदीले बताए । तर, चोरहरुले मास्क र पिपिई जस्तै पहिरन लगाएकाले प्रष्ट चिन्न सकिएको भने छैन ।

प्रतिक्रिया