मुलुकमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फेरी राजनीतिक समस्या खडा गर्न खोजिएको बताएका छ । उनले राजनीतिक स्वार्थबाट देशमा कहिल्यै हित नहुने बताउँदै त्यस्ता स्वार्थ पुरा हुन नसक्ने जिकीर गरेका छन् ।

कीर्तिपुरका सुन्दरीघाट चोभार स्थित ‘शान्ति सुद्धम्मावासा’ जेष्ठ नागरिक आवास गृहको शिलान्यास गर्दै उनले सत्यभन्दा स्वार्थ बढी भएको र त्यसले कहिल्यै पनि शान्ति कायम गर्न नसक्ने स्पष्ट पारे । ‘हामी नेपालीहरु बुद्धका अनुयायी हौँ, हामीले जहिल्यै पनि स्वार्थी नभै सत्यका पुजारी हुनुपर्छ’उनले भने । पछिल्लो समय मुलुकमा अशान्ति बढिरहेको तर्फ इंकित गर्दै उनले नेपाली समाज पदभ्रष्ट हुन खोजिएको बताए ।

नेकपा विप्लब समुहले मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठलाई डकैती शैलीमा हत्या गरेको बताउँदै त्यस्ता गतिविधि गर्नेलाई सरकारले कुनै हालतमा माफी नदिने स्पष्ट पारे । ‘यस्तै खालको बिकराल कालखण्ड पार गरेर मुलुक यो स्थितिमा आएको छ, अब फेरी त्यतैतिर फर्काउने अवस्था आएको छ, त्यस्ता समुह कमाउने होइन, सम्पत्ति दिएन भने हत्या गर्ने प्रवृत्तिमा लागेका छन्’– प्रम ओलीले भने ।

नेपालको पछिल्लो राजनीति अवस्थाप्रति कटाक्ष गर्दै उनले भने‘अहिले पंखा चलाएर आँधी ल्याउन खोजिरहेका छन्, त्यस्तो प्रवृत्तिलाई सफल हुन दिन्नौँ ।’ पार्टीमा देखिएको अन्तरविरोधप्रति लक्षित गर्दै उनले भने ‘पंखा चलाउँदैमा आधि आउदैन, साँच्चिकै आँधि ल्याउनुपर्छ ।’

उनले नेपाल बुद्धभूमि मात्र नभई बुद्धदर्शनको मुहान भएको बताउँदै उनले शान्ति, मेलमिलाप र एकताको प्रतिक बुद्धको वाणीबाट नेपाल विश्वमै शान्तिभुमी भएको बताए ।

जेष्ठ नागरिक भवन निर्माण शुरु गरेकोमा खुसी व्यक्त गर्दै उनले यसलाई सरकारले पुरा गरेर छाड्ने वचनबद्धता व्यक्त गरे । कार्यक्रममा प्रम ओली र उनकी धर्मपत्नी राधिका शाक्य, र शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले भूमिपूजा गरेका थिए ।

प्रमपत्नी शाक्यद्धारा पाँच लाख सहयोग
प्रधानमन्त्री पत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माण गर्न पाँच लाख रुपियाँ सहयोग गरेकी छन् । सहयोग कार्यक्रको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास कार्यक्रममा सहभागी भएकी पत्नी शाक्यको तर्फबाट पाँच लाख रुपियाँ सहयोग हुने बताएका थिए । ‘यो सरकारको तर्फबाट होइन, मेरी श्रीमती राधिका जीको तर्फबाट ५ लाख रुपियाँ सहयोग गरेका छौँ ’प्रम ओलीले भने ।

प्रतिक्रिया