फाउचीको चेतावनी- ‘क्रिसमसपछि कोरोनाको नयाँ लहर आउँछ’

काठमाडौं । अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका छन् ।

अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ । उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौति बन्न सक्ने बताएका हुन् ।

अमेरिकामा सङ्क्रमण एउटा उच्च विन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ । अस्पतालहरू कोरोनाभाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन् ।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन् । अहिलेसम्म अमेरिकामा १ करोड ४७ लाखभन्दा बढ्ता सङ्क्रमणका घटना पुष्टि भएका छन् भने २ लाख ८२ हजार पाँच सयको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको विवरणअनुसार यी दुवै सङ्ख्या विश्वकै उच्च हुन् ।

डा. फाउचीले के भने ?
अमेरिकाका शीर्ष सङ्क्रामक रोगविज्ञ डा. फाउचीले ज्यानुअरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । फाउचीले क्रिसमसका लागि आफ्नो चासो थ्याङ्सगिभिङका लागिजस्तै रहेको बताएका छन् ।

उनले भने- ‘यो लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्छ ।’ फाउचीलाई राष्ट्रपति-निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गरेका छन् । कसैले पनि बिदाको यामलाई बन्द गर्न वा बदल्न नचाहेको बताउँदै फाउचीले भने- ‘तर हामी निकै जटिल समयमा छौँ… हामी तथ्य र विवरणहरूबाट भाग्न सक्दैनौँ। यो सबैका लागि कठिन समय हो ।’

थ्याङ्सगिभिङका बेला यात्रा नगर्न विज्ञहरूले गरेको आग्रहलाई दशौँ लाखले टेरेका थिएनन् । कोभिडको प्रभाव अझै चर्को देखिँदा समेत उक्त बिदा पछिको आइतवार मार्च महिना यताकै सबैभन्दा धेरै हवाई यात्रु देखा परेका थिए ।

‘मृत्यु चार लाख पुग्नसक्छ’
आइतवार अमेरिकाको खाद्य तथा औषधि निकाय एफडीएका पूर्वआयुक्त स्कट गोटलिबले ज्यानुअरीको अन्त्यसम्ममा अमेरिकामा भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार लाख नजिक पुग्न सक्ने बताए ।

उनले थपे- ‘अहिले जेजस्तो खराब अवस्था छ त्यसले अवस्था झन् धेरै बिग्रने देखिन्छ ।’ अमेरिकामा बिहीवार फाइजरको खोपलाई स्वीकृति दिने ठानिएको छ । र, ट्रम्प प्रशासनले ज्यानुअरी महिनाको मध्यसम्ममा २ करोड ४० लाखलाई खोप दिने सोचेको छ । तर कसलाई पहिले दिने भन्नेमा भने प्राथमिकताहरू निर्धारण गरिनेछ ।

यसैबीच न्यूयोर्क टाइम्सका अनुसार राष्ट्रपति ट्रम्पले ‘खोपहरू अन्य देशलाई पठाउनुअघि अमेरिकी नागरिकलाई प्राथमिकता दिने अवस्थाको सुनिश्चित गर्न’ एउटा कार्यकारी आदेश जारी गर्ने योजनामा छन् । –बीबीसी

प्रतिक्रिया