कर्णाली क्षेत्रमा आँखा सेवा प्रभावकारी बनाउन साझेदारी

काठमाडाैं । कर्णाली प्रदेशमा गुणस्तरीय र पहुँच योग्य आँखा सेवा विस्तार गर्न  नेपाल नेत्रज्योती संघ र नेपाल रेडक्रस सोसाइटी साझेदारीमा कार्य गर्ने भएका छन् । यस विषयमा आज नेपाल रेडक्रस सोसाइटी र नेत्रज्याेती संघ विच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल रेडक्रसले कर्णाली प्रदेशमा स्थापना गरेको सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धि गरी एकिकृत कर्णाली आँखा कार्यक्रम विस्तार गरी रिफरल अस्पताल बनाउन दुवैपक्ष सहमत भएका हुन् ।

कार्यक्रममा नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले नेपाल रेडक्रसले आँखा सेवालाई प्राथमिकता दिँदै आएको र स्वीस रेडक्रस लगायत संस्थाहरुकोे सहयोगमा आँखा सेवाका साथै पोषण, स्वास्थ्य र सरसफाई जस्ता गतिविधिहरु एकिकृत गरी समुदायमा सेवा पुर्याएको जानकारीे दिए ।

नेपाल नेत्रज्योती संघका अध्यक्ष चेतराज पन्तले कर्णाली प्रदेशका जनताले अन्धोपन र बहिरोपन निवारण सम्बन्धी सेवा र प्रतिफल पाऊन भन्ने उद्धेश्यले सम्झौता गरिएको बताए ।

सम्झौतामा हस्ताक्षर गर्दै रेडक्रस महामन्त्री पिताम्बर अर्यालले भने–‘ रेडक्रसको स्वयंसेवकको सञ्जाल र नेत्रज्योति संघको आँखा सेवामा प्राविधिक क्षमताको सवल पक्षहरुलाई मिलाएर कर्णालीका समुदायलाई सेवा गर्ने समझदारीलाई सफल बनाउन स्थानीय स्तरको सहकार्यलाई सुदृढ बनाइने छ ।’

सोही अवसरमा नेपाल नेत्रज्योती संघका महासचिव भरत बहादुर चन्दले कर्णाली प्रदेशलाई लक्षित गरी दुवैसँस्था सँगै काम गर्ने सन्देश आफैमा सुखद रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाल नेत्रज्योती संघका कार्यकारी निर्देशक, कर्णाली कार्यक्रम संयोजक, रेडक्रसका स्वास्थ्य सेवा विभागका निर्देशक पवन गुप्ता, सञ्चार विभाग निर्देशक दिव्यराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

सुर्खेत आँखा अस्पतालको क्षमता अभिबृद्धिगरी समुदायमा आँखा सेवालाई प्रभावकारी बनाउन र यसमा प्रदेश र स्थानीय सरकार, स्वीस रेडक्रस, सिविएम इन्टरनेशनलका साथै अरु सरोकारवालासँग पनि सहकार्य बढाउन दुवै सँस्था सहमत भएका छन् ।

नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिव भरतबहादुर चन्द र नेरेसोको तर्फबाट महामन्त्री पिताम्बर अर्यालले आगामी ५ वर्ष सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया