मकालुखबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

नेकपा स्थायी कमिटी बैठक २८ गते बस्ने गरी स्थगित, केन्द्रीय कमिटी पनि सर्‍यो

|आइतबार बसेको नेकपा स्थायी कमिटी बैठक|

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बसेको स्थायी कमिटी बैठक २८ गते बस्ने गरी स्थगित भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओलीको उपस्थिति बिना बसेको बैठक २८ गते बस्ने गरी स्थगित भएको हो ।

आज बसेको बैठकको मुख्य कार्यसूची पार्टी भित्रका आन्तरिक विवाद थिए । तर बैठकमा अध्यक्षको नै उपस्थिति नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए। बैठकमा उपस्थित हुन नसकेको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पत्र पठाएका थिए। उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेर सबैलाई सुनाएका थिए । पत्रमा प्रचण्डको प्रस्तावबारे औपचारिक छलफल गर्न नसकिने उल्लेख गरिएको थियो । केहीबेर बसेर बैठक स्थगित भएको हो ।

आज स्थायी कमिटी बैठक बसेपछि २५ गते केन्द्रीय समिति बैठक बोलाइएको थियो। तरआजको स्थायी कमिटी बैठक पनि २८ गतेसम्मका लागि स्थगित भएपछि केन्द्रीय कमिटी पनि अनिश्चित बनेको छ ।

स्थायी कमिटीमा ओलीको पत्र–‘प्रचण्डको प्रस्तावमा औपचारिक छलफल गर्न सकिन्न, त्यसैले बैठकमा आइनँ’

आजको बैठकमा अनुपस्थित रहेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत् एक पत्र पठाएका थिए । पत्रमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्न नसकिने हुँदा आफू उपस्थित नभएको उल्लेख गरेको थिए ।

‘प्रधानमन्त्रीज्यूले उपप्रधानमन्त्री कमरेड ईश्वर पोखरेलमार्फत् एक पत्र पठाउनुभएको थियो । पत्रमा कमरेड प्रचण्डको प्रस्तावमाथि छलफल गर्न नसकिने भएकोले बैठकमा उपस्थित हुन नसकेको भन्ने थियो ।’बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष दाहालको अध्यक्षतामा बसेको आजको बैठकले आउँदो २८ गते पुनः बस्नेगरी आजको बैठक सकाएको थियो ।

खाने तेलमा मूल्य वृद्धि
काठमाडौँ । प्रशोधन उद्योगहरूले खाने तेलको मूल्य बढाएका छन् । खुद्रा व्यापार संघकाअनुसार सबैजसो खाने तेलको मूल्य ५० रुपैयाँसम्म बढेको छ। ब्रान्डअनुसार लिटरमा १०–१२ रुपैयाँ तलमाथि भए पनि सबैजसोको मूल्य बढेको छ । तोरीको तेल, सूर्यमुखी तेल तथा भटमासको तेलमा मूल्य बढेको हो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई कारबाही
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन छाप्ने दुई संस्थालाई सरकारले कारबाही गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) र ग्लोबल एक्सन नेपाललाई शिक्षा मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गरेको भन्दै कारबाही गर्न लागेको हो ।

‘अनधिकृत रुपमा उल्लेखित गैह्र–सरकारी संस्थाहरूले यस मन्त्रालयको नाम र नेपाल सरकारको निशान छाप प्रयोग गर्नुका साथै नेपाल सरकारको प्रतिलिपि अधिकारको समेत उल्लंघन गरिएको देखिएको हुँदा यस विषयमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाइसकिएको छ’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२०७५ सालमा आयोगले बुझाएको प्रतिवेदन सरकारले गोप्य राखेपछि आयोगका बहुमत सदस्यहरूले गत शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यही प्रतिवेदनको प्रिन्ट संस्करण प्रकाशित गरेको भन्दै सरकारले एनसीई र ग्लोबल एक्सनलाई कारबाही गर्न लागेको मन्त्रालयले जानकारी दिएको छ।

शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायले दुवै संस्थासँग सहकार्य गर्दै आएको थियो । तर आइतबारदेखि सहकार्य समेत बन्द गरिएको मन्त्रालयले जनाएको छ । एनसीई र ग्लोबल एक्सनले भने उच्चस्तरीय शिक्षा आयोगका सदस्यहरूको निर्णय र स्वीकृतिमा प्रतिवेदन प्रकाशन भएको जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश स्वीकृत
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दुई अध्यादेश स्वीकृत गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले यौन हिंसा विरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७ स्वीकृत गरेकी हुन् ।

राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पशुपति क्षेत्रको गुरुयोजनालाई अन्तिम रूप दिन प्राविधिक समिति
पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने क्रम शुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गुरुयोजनालाई प्राविधिकरूपमा अन्तिम रूप दिई स्थानीयवासीले उठाएका सवालसमेत समेट्न अर्थविद् डा चन्द्रमणि अधिकारीको संयोजकत्वमा सात सदस्यीय प्राविधिक समिति गठन गरेको थियो । समितिको पहिलो बैठक बसी कार्यादेशअनुसार काम शुरु गरिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

सरोकार भएका निकाय र स्थानीयवासीसँग समेत अन्तक्र्रिया गरी गुरुयोजनालाई अन्तिम रूप दिइने उनले बताए । प्राविधिक समितिमा पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम सहसंयोजक रहेका छन् । यसैगरी सदस्यमा वरिष्ठ संरचनाविद् प्रा डा प्रेमनाथ मास्के, वरिष्ठ वास्तुकलाविद् प्रा डा सुदर्शनराज तिवारी, वरिष्ठ पुरातत्वविद् भीमप्रसाद नेपाल, सांस्कृतिक सम्पदा संरक्षणविद् काइवाइजे रहेका छन् । समितिको सदस्यसचिव भने कोषका सदस्यसचिव डा ढकाललाई तोकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका दुई सहसचिव र विभागका महानिर्देशक रहेको तीन सदस्यीय समितिले दिएको सुझावका आधारमा प्राविधिक समिति गठन गरिएको हो । तीन सदस्यीय समितिले पनि गुरुयोजना अध्ययन गरी थप सुधार गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । प्राविधिक समितिलाई तीन महिनामा गुरुयोजनालाई अन्तिम रूप दिई प्रतिवेदन पेश गर्ने समय दिइएको छ ।

समितिले पशुपति क्षेत्रको पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षको मनन गरी सरोकार भएका निकाय र स्थानीयवासीसँग छलफल गर्ने क्रमसमेत शुरु गरेको छ । यसअघि गुरुयोजनाका नाममा पशुपति क्षेत्रको प्राचीन बस्ती उठाउन खोजिएको भन्दै स्थानीयवासीले संयुक्त सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका थिए ।

डोटी दुर्घटना
डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका निज बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा उहाँकै काखमा मृत्यु भएको बताइएको छ । उक्त जिप दुर्घटनामा घाइते हुनेको सङ्ख्या चार रहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको टाउको र ढाडमा गम्भीर चोट लागेको छ ।

उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका(७ का वडासचिव बैतडी सुर्यनया गाउँपालिका(६ मुलखटालीका २८ वर्षीया मञ्जु त्रिपाठी ९अवस्थी०, निजकी सासु अन्दाजी ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका(४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत अन्दाजी ४० वर्षीय हरिनारायण भट्ट छन् ।

यसैगरी घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका(६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका(१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका(७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए राति नै प्रहरी निरीक्षक रवीन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको र घाइते चारै जनाको उद्धार गरी दिपायल पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गौतमबुद्ध बिमानस्थलको काम २५ दिनभित्र सक्न पर्यटनमन्त्रीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम २५ दिनभित्र सक्न निर्देशन दिएका छन् ।

शनिबार विमानस्थलको स्थलगत निरीक्षणपछि मन्त्री भट्टराईले आयोजना प्रमुख र निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट कम्पनीलाई २५ दिनभित्र काम सक्न निर्देशन दिएका हुन् ।

‘तपाईँहरुलाई २५ दिनको ‘होमवर्क’ दिन्छु । आयोजना प्रमुख र निर्माण व्यवसायी दुवैले २५ दिनपछि मलाई जवाफ दिनुपर्छ, काम सकाउनुपर्छ,’ भट्टराईले भने । निकट भविष्यमा गौतमबुद्ध विमानस्थल सम्पन्न भएर राष्ट्रिय आयोजनामा एक नम्बर हुने पनि उनले विश्वास व्यक्त गरे ।

कोरोनाका कारण काममा प्रभाव परेको बताउँदै उनले उपकरण जडानका लागि आवश्यक केही विदेशी दक्ष जनशक्ति नेपाल ल्याउन सबै प्रयास गरिरहेको पनि बताए । मन्त्री भट्टराईले भने, ‘सकेसम्म उहाँहरु आउनुहुन्छ । यदि कोरोनाकै कारण आउनुभएन भने नेपाली जनशक्तिले नै काम गर्नुहुन्छ ।’

आयोजना प्रमुख प्रवेश अधिकारीले आयोजनाको काम ९२ प्रतिशत सकिसकेको भन्दै बाँकी काम विदेशमा रहेका जनशक्ति नआउँदा रोकिएको बताए । उनले लकडाउनको समयमा पनि सिभिल काम निरन्तर भइरहेको बताए ।

पीएसजीको जितमा एमबाप्पेको कीर्तिमानी गोल
फ्रेन्च लिग वान फुटबल अन्तर्गतको खेलमा पेरिस सेन्ट–जर्मेन ९पीएसजी०ले शानदार जित दर्ता गरेको छ । शीर्ष स्थानको पीएसजीले अवे मैदानमा भएको खेलमा मोन्टपिलरलाई ३–१ ले पराजित गरेको हो ।

पीएसजीको जितमा कोलिन डगबा, मोइस कीन र केलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै मोन्टपेलिएरका लागि स्टेफी माभीडीडीले एक गोल फर्काएका थिए ।

यस खेलमा एक गोल गरेसँगै एम्बाप्पेले पीएसजीका लागि आफ्नो सय गोल पूरा गरेका छन् । एम्बाप्पे पीएसजीका लागि सय गोल गर्ने पाँचौ खेलाडी हुन् । यस अघि एडिसन कभानीले २ सय गोल गरेका छन् भने जलाटन इब्राहिमोविचले १५६, पाउलेटाले १०९ र डोमिनिक्यू रोचेटाउले सय गोल गरेका थिए ।

योजितपछि पीएसजीको लिग वानमा १३ खेलमा २८ अंक भएको छ र पिएसजी शीर्ष स्थानमा रहेको छ । त्यस्तै मोन्टपेलिएरको १३ खेलमा २३ अंक छ भने लिगमा छैठौ स्थानमा रहेको छ ।

शेयर बजारमा अहिलेसम्मकै उच्च गिरावट
शेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत शेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ ।

यस्तै एक महिनामा ४ सय अंक बढीले बढेको बजारमा अल्पकालिन लगानीकर्ताले नाफा सुरक्षित गर्न विक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो । आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात १ सय २३ दशमलव ३४ अंकले घटेर १ हजार ९ सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ । नेप्सेमा आज भएको गिरावट अहिले सम्मकै उच्च हो । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ । आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो ।

दिनभर १ सय ९७ कम्पनीको ७ अर्ब २० करोड ९१ लख ८० हजार २ सय १३ रुपैयाँको १ करोड ५४ लाख ९० हजार ७८ कित्ता शेयर खरिद विक्री भएको छ । कारोबार संख्या ६१ हजार ८ सय ५८ रहेको छ ।

प्रतिक्रिया