मकालु खबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठलाई

‘मिस नेपाल वर्ल्ड’–२०२० नम्रता श्रेष्ठ|

मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन् । प्रतियोगिताको २० प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्।

उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्। उनी किन्डर गार्डेन टिचर हुन्।

यस्तै, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्। ‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

नेकपा सचिवालय : दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा जाने

तस्विरः गुगल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय भोलि आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।

पार्टीको संकट र त्यसको निवारणबारे स्थायी कमिटीमा नै छलफल र यसका लागि अहिलेसम्म सचिवालयमा पेश भएका प्रस्तावहरुमाथि सार्थक छलफल गरी निष्कर्ष निकालिने सचिवालय बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सचिवालयको बैठक अगाडि दुबै अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

राजावादीहरुको प्रदर्शन नरोकिए बल प्रयोग गर्छौँ : प्रजिअ काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले राजावादीहरुले प्रदर्शन नरोकिए बल प्रयोग गर्ने बताएका छन् ।

उनले गृहमन्त्रालयबाट निर्देशन आइसकेपछि आन्दोलनको नेतृत्व गर्ने संगठनलाई खबर गरेर पनि प्रदर्शन नरोकेको भन्दै यस्तो बताएका हुन् ।

प्रजिअ पराजुलीले आन्दोलनलाई थप सशक्त बनाइएको खण्डमा प्रशासनले बल प्रयोग गर्ने बताए । ‘हामीले अझै ताकेता गर्छौँ, यदि उहाँहरुले नजरअन्दाज गरे बल पनि प्रयोग गर्छौँ’, प्रजिअ पराजुलीले भनेका छन् ।

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०२४ संक्रमित, १० को मृत्यु

|सांकेतिक तस्वीर|

पछिल्लो २४ घण्टामा एक हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ७४ जनाको नमुना परीक्षण गर्दा १ हजार २४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधीमा २ हजार २०६ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २४ हजार ५३ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ ।

ओली प्रचण्डले तोडे २५ दिनपछि संवादहीनता

नेकपा अध्यक्षद्वय ओलीप्रचण्ड। फाइल फोटो।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज वार्ता भएको छ । २५ दिन पछि दुबै अध्यक्षले संवादहीनतालाई तोडेर आज वार्तामा आएका हुन् ।

आजको सचिवालय बैठक बस्नु अघि दुवै अध्यक्षले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लाएक्लै वार्ता गरेका हुन् ।

अध्यक्षद्वयबीचको वन टू वन वार्ताले नेकपाभित्र आन्तरिक विवादको समाधानका लागि केही सहज परिस्थिति सिर्जनको संकेत देखिएको छ । दुबै अध्यक्षको वार्ता पछि बसेको नेकपा सचिवालय बैठक भोली बस्ने स्थायी कमिटी बैठकमा दुबै अध्यक्षको प्रस्तावको बारेमा थप छलफल गर्ने निष्कर्ष निकाल्दै सकिएको हो ।

राजधानीमा लाग्यो गणतन्त्र विरोधी नारा
धार्मिक सापेक्षता सहितको राजसंस्था पुर्नस्थापनाको माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । राष्ट्रिय नागरिक आन्दोलनको अगुवाईमा भएको प्रदर्शनमा उल्लेख्य मात्रमा नागरिकको सहभागीता थियो ।

दिउँसो माइतीघर मण्डलाबाट बानेश्वरसम्म राजसंस्था र हिन्दुधर्म पुर्नस्थापनाको पक्षमा चर्का नारा लगाउँदै पुगेको प्रदर्शनमा युवा तथा बृद्धबृद्धाहरुको सहभागीता थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले गणतन्त्रका विपक्षमा चर्को नारा लगाउँदै मुलुकमा संघियता र धर्मनिरपेक्षता असफल भएको बताए । प्रदर्शनकारीहरुले नागरिकतन्त्र सहित राजसंस्था र हिन्दु धर्म पुर्नस्थापनाको माग गरे ।

‘ राजतन्त्रको फोहोर सफा गर्ने कि, फोहोरको डंगुरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २४० वर्षको राजतन्त्रले थुपारेको फोहोर १२ वर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भनेर त्यही डंगुरमा फर्किनु नहुने बताएका छन् । राजतन्त्रको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको देशव्यापी आन्दोलनतर्फ लक्षित गर्दै बाबुरामले यस्तो प्रश्न तेर्स्याएका हुन् ।

उनले राजावादी धमिलो पानीमा माछा मार्न हौसिएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी ओलीको समेत आलोचना गरेका छन् ।

२४० वर्षसम्म राजतन्त्रले थुपारेको गरिबी, बेरोजगारी, भ्रष्टाचार र जातीय विभेदको फोहोर १२ वर्षमा सोहोर्न सकिएन भनेर राजतन्त्रको पक्षमा आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ।

कोभिड–१९ विरुद्धको खोप ल्याइने
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिका छन्।

हुम्ला जिप दुर्घटना

सांकेतीक/प्रतिकात्मक तस्वीर।

सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति भएको दुर्घटनामा मृत्यु हुने चारैजनाको सनाखत भएको छ ।

शुक्रबार राति पौने ११ बजे लु २ च २१०२ नम्बरको जिप दुर्घटनामा परी एक महिलासहित चारजनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सिमकोट–२ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा सो दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । दुर्घटनामा परी एक वर्षको बच्चासहित सातजना घाइते भएका छन् ।

घाइते हुनेमा सिमकोट–२ ठेहेका जिप चालक सिङ्गम भण्डारी, सिमकोट–६ का प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सिका कल्पना सिंह, सिमकोट–८ खोल्सिका एक वर्षे बालक मिलन सिंह, सिमकोट–८ खोल्सिका सम्झना शाही, नाम्खा गाउँपालिका–१ का झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कवि सिंह रहेका छन् ।

भूमिगत ग्यास चुहावट भई चिनियाँ कोइला खानीमा कम्तीमा १८ जनाको मृत्यु

चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन मनोअक्साइड ग्यास चुहावट भएका कारण शनिबार कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ ।

चिनियाँ समाचार संस्थाहरूका अनुसार चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार भएको उक्त घटनामा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए । खानीमा फसेका अझै पाँच व्यक्तिलाई बाहिर ल्याउनका लागि उद्धार कार्य जारी रहेको राज्य सञ्चालित चिनियाँ टेलिभिजन सीसीटीभीले जानकारी गराएको छ ।

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ । करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो । चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार उक्त खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भएपनि खानीलाई सुरक्षित मानिँदै आएको थियो । घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ ।

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ । चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापर्बाहीका रूपमा लिने गरिन्छ । चोङछिङको एक अर्को खानीमा सेप्टेम्बरमा आगलागी हुँदा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया