ओलीमा मुलुकलाई सही दिशामा डोर्‍याउने ल्याकत छैन

एउटा कुनाबाट फेरि उही पुरानो “सरकारको स्थायित्वको पैरवी” सुरु भएको छ । अर्थात ओलीका समर्थक सुभेक्षुकहरुले कतै सरकारको नेतृत्व परिवर्तन हुने हो कि भन्ने डर मानेजस्तो देखिन्छ र अस्थिरताको पुरानो उदाहरण देखाएर लोकको सहानुभूति बटुल्ने कोसिस गर्न थालेको छ ।
एउटा कोणबाट हेर्दा त्यस्तो चेष्टालाई स्वभाविक मान्नु पनि पर्छ ।
दुनियाँले कसरी बुझेको थियो कुन्नी ? मेरो भने नितान्त फरक धारणा थियो । मेरो बुझाई र विचारलाई अरुले त्यही अर्थमा त्यसरी नै हेरिदिनुपर्छ भन्ने आग्रह थिएन । त्यस्तो आशय राख्नुको कुनै अर्थ पनि थिएन । किनकी समाजको अति सानै हिस्सालाई समेत आफ्नो बुझाईमा सहमत गराउन सक्ने खुबी थिएन । त्यस्तो अभियान चलाउने हैसियत पनि थिएन ।
पहिलो कुरा, पहिलो संविधानसभालाई त्यतिबेलाका नयाँ शक्ति र तिनको नेतृत्वले सदुपयोग गर्न सकेन । चार चार बर्षको अवधिमा संविधान दिन सकेन । बाहिरीतत्व उक्त संविधानसभालाई असफल गराउन लाग्यो कि लागेन भन्ने कुरा दोश्रो हो ।
संविधानसभाले संविधान बनाउन नसक्नु पहिलो कुरा हो । कारण होइन परिणाम के निस्क्यो भन्ने कुराले नेतृत्वको सफलता असफलता निर्धारण गर्ने हो ।
दोश्रो कुरा, संविधानको दोश्रो निर्वाचनमा पुराना पार्टीको पक्षमा जनमत दिनु नेपाली जनताको महा भूल थियो । पहिलो संविधानसभाले अपेक्षाकृत जनमुखी संविधान बनाउँथ्यो भन्ने कुरा स्पष्ट थियो । त्यही कारणले प्रतिगामी यथास्थितिवादी तत्व संविधानसभा असफल गराउने षड्यन्त्रमा लागेको थियो । त्यो कुरा नबुझ्नु ठूलो गल्ती थियो । संविधान निर्माणको जिम्मा पूर्व एमाले र नेपाली काँगेसलाई दिनु जनताको दोश्रो गल्ती भयो ।
तेश्रो कुरा, पूर्व एमाले र माओवादी केन्द्र संयुक्त भएर निर्वाचन लड्दा बहुमत प्राप्त हुनु स्वभाविक थियो । तर त्यसको नेतृत्वमा खड्गप्रसाद ओली रहनु मुलुकका लागि दुर्भाग्य थियो ।
नयाँ सरकार बनेको सुरु दिनदेखी नै अरिङ्गालहरुको गाली खाएरै पनि ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न सक्दैन । ओलीमा मुलुकलाई सही दिशामा डोर्याउने ल्याकत छैन भनेको हुँ, भन्दै आएको छु र फेरि पनि भन्छु । कसैप्रतिको कुनै आग्रह होइन । ओलीको क्षमताको सही नापोको अभिव्यक्ती थियो त्यो।
चौथो कुरा, सरकारको स्थायित्वको नाममा सत्ताको नेतृत्वमा ओली रहिरहनु देश र जनताका लागि नोक्सानदायी कुरा हो । ओलीको विकल्पमा आउने रद्दीभन्दा रद्दी विकल्प पनि अब्बल सावित हुनेछ ।
पाचौं कुरा, खराब भन्ने जान्दाजान्दै त्यसलाई माया गर्नु बाँदर्नीले मरेको बच्चाको लास छातीमा च्यापिरहनुजस्तै निरर्थक चेष्टा हो । यति भन्न पटक्कै हिच्किचाउनुपर्छ जस्तो लाग्दैन ।
प्रतिक्रिया