मकालु खबर दिनभर : यी हुन् आजका प्रमुख १० समाचारहरु

२९ गते देशैभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न बोलाइएको पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो

पूर्व पदाधिकारीहरुसमेतको शुक्रबार बसेको बैठकले २९ गते देशैभर सडक प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी भएका नेता अर्जुनरसिंह केसीका अनुसार सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै कांग्रेसले यस्तो निर्णय गरेको हो ।

कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

गत बुधबार तनहुँको व्यास नगरपालिका पुलको उद्घाटन गर्न पुगेका नेता पौडेलमाथि त्यहाँको जिल्ला प्रशासन कार्यालयले नै धरकपड गरेको बताइएको छ । कर्फ्यू क्षेत्र तोड्न खोजेको भन्दै नेता पौडेललाई ३ घण्टा नियन्त्रणमासमेत लिइएको थियो ।

‘अब नेपालमा गाँजा खेती गर्न अन्तर्राष्ट्रिय कानूनले छेक्दैन, चाँडै कानूनी मान्यता दिन्छौँ’
पूर्वमन्त्री तथा सांसद शेरबहादु तामाङले अब नेपालमा गाँजा खेती गर्न अन्तर्राष्ट्रिय कानूनले नछेक्ने बताएका छन् । मकालु खबरसँग संक्षिप्त कुराकानी गर्दै सांसद तामाङले नेपालमा पनि यसलाई चाँडै कानूनी मान्यता दिइने बताए ।

तीन वर्ष अगाडि संयुक्त राष्ट्रसंघलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाँजालाई लागू औषधको सूचीबाट हटाएर औषधीय गुण भएको वनस्पतीको सूचीमा सूचीकृत गर्न आग्रह गरेअनुसार सूचीकृत भएको बताउँदै सांसद तामाङले गाँजा खेतीलाई कानूनी मान्यता दिइए नेपालका युवाहरु विदेशिनुपन नपर्ने पनि बताएका छन् ।

सांसद तामाङले गाँजालाई कानूनी मान्यता दिएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताउँदै गत १९ फागुनमा संसद सचिवालयमा आफैँले तयार पारेको मस्यौदा दर्ता गराएका छन् ।

कोरोना खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्नु हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका हुन् ।

खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्नेमा उनको जोड् छ । ‘खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने–‘सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन(रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ ।’

१,५७५ संक्रमित निको हुँदा १,२७२ जनामा कोरोना पुष्टि, थप १६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर १ हजार २७२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) १ हजार ५७७ जना संक्रमित निको भएका छन् भने थप १६ जनाको मृत्यु भएको छ । यस्तै आज क्वारेन्टिनमा ५३७ जना छन् भने सक्रिय संक्रमित संख्या १५ हजार ४४७ रहेको छ ।

आजको अपडेटसँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । संक्रमितमध्ये २ लाख २१ हजार ८४७ जना निको भइसकेका छन् भने १ हजार ५६७ जनाको मृत्यु भइसकेको छ ।

केपी ओली पार्टी विभाजनतर्फ अग्रसर भए : वामदेव गौतम
नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । पार्टी एकता जोगाउन अध्यक्ष ओली सच्चिनुको विकल्प नभएको उनको तर्क छ ।

आफ्नो निवासमा भेट्न आएका अनेरास्ववियूका विद्यार्थी नेताहरूसँगको कुराकानीमा गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको जिकिर गरे । सचिवालयको बैठकमा दुवै अध्यक्षका तर्फबाट पेस भएका प्रस्तावहरू छलफलका माध्यमबाट नै टुंगो लगाइने गौतमले बताएको उनी निकट अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले जानकारी दिए ।

‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ । त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै पन्तले भने, ‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस् । म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु ।’

बैठकमा नआएर ओलीले आफ्नै प्रतिवेदन बेवारिसे बनाउनु भयो : अष्टलक्ष्मी
सत्तारुढ दल नेकपाकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै प्रतिवेदनलाई बेवारिसे बनाएको आरोप लगाएकी छन् । शुक्रबार थापाथली क्याम्पसमा आयोजित प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले बैठकमा नआएर अध्यक्ष ओली आफैले पार्टीको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन बेवारिसे बनाएको बताएकी छन् ।

नेतृ शाक्यले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सचिवालय सदस्यका तर्फबाट पेस गरेको प्रतिवेदनले पार्टीभित्रको अहिलेको समस्यालाई देखाएको बताइन्।

उनले सचिवालयमा पेस भएका दुवै प्रस्तावमाथि छलफल गर्नुपर्ने बताइन्।

मातहतका निकायको कामप्रति गृहमन्त्री असन्तुष्ट, अनुगमन गर्न सातै प्रदेशमा समिति खटाउने
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालय मातहतका निकायको काम–कारबाहीको अनुगमनलाई तीव्रता दिने बताएका छन् ।

यसका लागि मन्त्रालयले सातवटै प्रदेशमा सहसचिवको नेतृत्वमा छुट्टा–छुट्टै अनुगमन टोलीसमेत गठन गरेको छ । आर्थिक वर्ष २०७७–०७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा शुक्रबार मन्त्री थापाले भन मातहतका काम–कारबाहीको अनुगमन तीव्र पार्ने बताएका हुन् ।

मन्त्री थापाले प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको भन्दै आगामी दिनमा काम कारबाहीलाई तीव्रता दिन निर्देशन दिए ।

सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि बन्यो, स्टार्टअप कम्पनीलाई दुई प्रतिशत ब्याजमै ५० लाखसम्म ऋण
नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई लक्षित गर्दै अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट स्वीकृत भएको कार्यविधि जारी भएको हो ।

छनौट भएका व्यवसायीलाई उद्योग मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत् दुई प्रतिशत ब्याज दरमा उपलब्ध गराइनेछ ।

यो कार्यविधिसँगै २०७६ साल माघ २० गते मन्त्रिपरिषद्बाट स्वीकृत नवप्रवर्तन सुरुवाती पुँजी अनुदान कार्यविधि खारेज गरिएको छ।

यूरोपा लिग : भिएनामाथि आर्सनलको शानदार जित
युरोपा लिगको अघिल्लो चरणमा स्थान बनाइसकेको लन्डन क्लब आर्सनलले शानदार जित दर्ता गरेको छ । गएराति अष्ट्रियन क्लब (यापिड भिएनामाथि ४–१ को सानदार जित निकाल्दै आर्सननले शतप्रतिशत जितलाई निरन्तरता दिएका हो ।

घरेलु मैदानको फाइदा उठाउँदै खेलको पहिलो हाफमा तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको हो । खेलको १० औं मिनेटमा आर्सनलका लागि एलेक्सान्डर लाकाजेटीले पहिलो गोल गरे । खेलको १८ औं मिनेटमा पाल्लो मारीले आर्सनलको अग्रता दोब्बर बनाए भने ४४ औं मिनेटमा एड्डी एनकेटियाले अर्को गोल गरे ।

पहिलो हाफ ३–० ले अग्रता लिएको आर्सनलमाथि दोस्रो हाफको सुरुवातमै भिएनाका लागि मितागवाले एक गोल फर्काए । खेलको ४७ औं मिनेटमा गोल गर्दै उनले खेल ३–१ को अन्तरमा झारेका थिए । आर्सनलका लागि ६६ औँ मिनेटमा स्मीथ रोवेले थप एक गोल गर्दै ४–१ को जित निश्चित गरे ।

अमेरिकी गुप्तचरको आरोप– चीनले बाइडेनको नयाँ सरकारलाई प्रभावित पार्ने प्रयास गरिरहेको छ
एक अमेरिकी गुप्तचर अधिकारीले चिनियाँ एजेन्टले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको भावी सरकारका मानिसलाई प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रिय गुप्तचर कार्यालयका विलियम अवनिनाले भनेका छन्, ‘चिनियाँ एजेन्टले बाइडेनका टोलीका मानिसमा कडा नजर राखेका छन् ।’

यस्तै अमेरिकी न्याय विभागका एक अधिकारीले हजार जनाभन्दा बढी संदिग्ध चिनियाँ एजेन्ट अमेरिकाबाट भागेका छन् । उनले भने, ‘हामीले यस्तो प्रयास विस्तार भइरहेको देखेका छौं, जुन योजना पहिले तयार गरिएको थियो। हामीले यसअघि नै भविष्यवाणी गरेका थियौं कि चीनले बाइडेनको प्रशासनलाई प्रभावित पार्न आफ्नो अभियान पुनः सुरु गर्नेछ ।’

 

प्रतिक्रिया