ओलीका दूतका रुपमा खुमलटार पुगेका उपप्रधानमन्त्रीले के भने ?

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको दूतका रुपमा बिहान ९ बजे दाहालनिवास खुमलटार पुगेका पोखरेलले ‘साझा प्रस्ताव’बनाउनुपर्ने बताएका थिए ।

स्रोतले बताएअनुसार पोखरेलले दुवै अध्यक्षको प्रस्तावबाट साझा प्रसातव बनाउनुपर्ने बताएका थिए । यसअघि दाहाललाई भेट्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङ्ग, महासचिव विष्णु पौडेललगायतका नेताहरु पुगेका थिए । जसमा नेम्वाङ्गलाई अध्यक्ष दाहालले चाहिएको खण्डमा परिस्थिति सहज बनाउन सकिने बताएका थिए । तर सबैले चाहनुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।

गत २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेका १९ पृष्ठ लामो प्रतिवेदनको प्रत्यूत्तर भन्दै ओलीले १३ मंसिरको बैठकमा ३८ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि थप पेचिलो बनेको नेकपा विवाद अहिले सम्वादहीनतामा अड्किएको छ ।

ओली उपस्थित नभएपछि गत १७ गते बसेको सचिवालय बैठक आउँदो २० गते बस्ने भएको छ । नेकपाले २१ गते स्थायी कमिटी बैठक डाकेको छ भने २५ गने केन्द्रीय कमिटीको बैठक डाकेको छ ।

यसअघि हिजो अध्यक्ष दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । भेटमा राष्ट्रपति भण्डारीले पार्टीको विवाद मिलाउन भूमिका खेल्न आग्रह गरेकी थिइन् । हिजै प्रधानमन्त्री ओलीलाई पनि भेटेकी राष्ट्रपति भण्डारीले विवाद समाधान गर्न आ–आफ्नो तर्फबाट योगदान गर्नुपर्ने बताएकी थिइन् । केही दिनपहिले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई पनि राष्ट्रपति भण्डारीले विवाद नगर्न र मिल्न सुझाव दिएकी थिइन् ।

प्रतिक्रिया