१० किलो चरेससहित समातिए ३० वर्षीय धानुक

बैतडी । १० किलो चरेससहित बैतडीमा एक जना पक्राउ परेका छन् । बझाङको बुङ्गल नगरपालिका-९ बस्ने ३० वर्षीय मानबहादुर धानुक पक्राउ परेका हुन् ।

बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार धानुकलाई विशेष सुराकीको आधारमा सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय बैतडीको संयुक्त टोलीले पक्राउ गरेको हो ।

झोलामा चरेस लिएर पैदल आइरहेका बेला उनी समातिएका हुन् । उनलाई गएराति ११ बजेतिर जिल्लाको पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको क्षेत्रीय अनुसन्धान समूहले जनाएको छ ।

पक्राउ परेका धानुकलाई जिल्ला ल्याइँदै गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

प्रतिक्रिया