केपी ओली पार्टी विभाजनतर्फ अग्रसर भए : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनतर्फ अग्रसर भएको आरोप लगाएका छन् । पार्टी एकता जोगाउन अध्यक्ष ओली सच्चिनुको विकल्प नभएको उनको तर्क छ ।

आफ्नो निवासमा भेट्न आएका अनेरास्ववियूका विद्यार्थी नेताहरूसँगको कुराकानीमा गौतमले प्रधानमन्त्री ओली पार्टी एकता जोगाउन भन्दा पनि विभाजनतर्फ अग्रसर भएको जिकिर गरे । सचिवालयको बैठकमा दुवै अध्यक्षका तर्फबाट पेस भएका प्रस्तावहरू छलफलका माध्यमबाट नै टुंगो लगाइने गौतमले बताएको उनी निकट अनेरास्ववियूका विद्यार्थी नेता माधव पन्तले जानकारी दिए ।

‘प्रस्तावहरू सचिवालयमा छलफल गरेरै टुंगो लगाइन्छ । त्यहाँ भएन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जान्छ,’ गौतमको भनाइ उद्धृत गर्दै पन्तले भने, ‘तपाईं विद्यार्थी नेताहरू पनि एकता जोगाउनका लागि लाग्नुस् । म पूरा रूपमा एकताकै पक्षमा छु। मैले आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका खेलिरहेको छु ।’

सो भेटमा गौतमले प्रधानमन्त्रीले बैठकमै नआउने, बैठक बहिष्कार गर्ने गरेर कम्युनिस्ट विधि, आचरणविपरीत व्यवहार प्रदर्शन गरेको आरोप लगाएका थिए । अहिलेको अवरोधको कारक ओली नै भएको उनले बताए । प्रधानमन्त्रीको शैली हेर्दा उनी पार्टी मिलाउनुपर्छ, एकता बचाउनुपर्छ भन्नेमा नभई सङ्कटकाल लगाएर संसद् विघटन गर्नेतर्फ उन्मुख भएको गौतमको आरोप थियो ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा विद्यार्थीहरु गौतमलाई भेट्न बिहीबार उनकै निवासमा पुगेका थिए । तामाङसँगै सो संगठनका दिपेश पुन, माधव पन्त, सुदीप शर्मा, तिलकराज भण्डारी, पञ्चा सिंह, विजय पौडेल, दीपक बुढाथोकी, कमल ढुंगाना, गोविन्द श्रेष्ठ, डा। निश्चल गुप्ता, नरेश न्यौपाने, समित थापा, दिनेश लो, सुमन आचार्य, सञ्जिव देवकोटा, केदार बुढाथोकी, सुरेश पराजुली र ओसिम अलामलगायत विद्यार्थी नेता गौतमनिवास पुगेका थिए ।

प्रतिक्रिया