‘रहरले अपाङ्ग काेही हुँदैन, हेला नगरियोस्’

‌चितवन । फरक क्षमता भएकाहरुलाई राज्यले हेर्ने दृष्टिकाेणमा सुधार भए पनि पर्याप्त नरहेको अपाङ्गता भएका व्यक्तिहरूले गुनासाे गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरूलाई पछिल्लो समय फरक क्षमता भएका व्यक्ति भनेर सम्बोधन गर्ने गरिएको छ । खैरहनी ११ घर भइ हाल राप्तिमा अध्यापन गराउँदै आएका दिपेन्द्र शर्माले मान्छे रहरले अपाङ्ग नहुने भन्दै आफूहरुलाई हेर्ने दृष्टिकाेणमा परिवर्तन आवश्यक रहेको बताए ।

‘मान्छे एक सेकेन्डमै अपाङ्ग हुन सक्छ । समाजले हेर्ने दृष्टिकाेणमा परिवर्तन अझै हुन सकेको छैन’, शर्माले भने । तर विगतमा राज्यबाट उपेक्षा हुने गरे पनि क्रमिक सुधार भएको शर्माको भनाइ छ । स्थानीय तहका सरकार बनेपछि आफूहरुको माग केही सम्बोधन भए पनि योजना छनौटमा अनिवार्य सहभागिता गराउनु पर्ने शर्माले बताए ।

२९ औं अपांग दिवसको अवसरमा खैरहनी नगरपालिकाले बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शिक्षण पेशा नै गर्दै आएकी होममाया सापकोटाले सेवा प्रदान गर्ने भौतिक संरचनाहरु निर्माण गर्दा अपांगमैत्री बनाउनु पर्ने बताइन् । फरक क्षमता भएका नीजि स्राेतका शिक्षकहरुको तलब न्यून रहेको भन्दै सापकोटाले तलब वृद्धि र सुविधा थप्नुपर्ने पनि बताइन् ।

खैरहनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष समेत रहेक सामाजिक विकास समिति संयोजक मनेजर महतोले फरक क्षमता भएकाहरुलाई नगरपालिकाले अवहेलना नगरेको बताए । महतोले भने, ‘उनीहरु (फरक क्षमता भएका) पनि समाजका सदस्य हुन्, विभेद गर्नुहुन्न । स्थानीय तहले उनिहरुको आवश्यकता अनुसार सहयोग गर्दै आएको छ, गर्छ पनि ।’

स्थानीय शिक्षा अधिकारी राजु वानियाँले कुनै पनि बेला जो कोहि पनि अपाङ्ग हुन सक्ने भएकाले उनीहरुलाई फरक दृष्टिकाेणले हेर्न नहुने बताए । उनीहरुका लागि संविधानमै शिक्षाको सुनिश्चितता गरेकाले नगरपालिकाले पनि त्यस्ता व्यक्तिहरूप्रति कन्जुस्याइँ नगरेको बताए । यस्तै स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले फरक क्षमता भएकाहरुलाई प्राथमिकता दिएर स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए । रातो कार्ड पाएका र महिला स्वयमसेविकाहरुलाई नि:शुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम अन्तिम चरणमा पुगेको अधिकारीले बताए ।

खैरहनी नगरपालिका उपप्रमुख सुनिता थपलियाको विशेष उपस्थितिमा भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय खैरहनिकी प्रहरी नायब निरीक्षक तुलसी परियारले फरक क्षमता भएकाहरुलाइ हेर्ने दृष्टिकाेणमा सुधार भइरहेको उल्लेख गर्दै प्रहरिले पनि उनिहरुको सेवालाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताए ।

नगर अपाङ्ग उत्थान इकाई समन्वय समिति खैरहनिका अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा भएको कार्यक्रममा महिला तथा बालबालिका शाखाकि प्रमुख कृष्णकुमारी गुरुङ, सहायक महिला विकास निरीक्षक विमला रानाभाट लगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया