ओली सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भयो : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पुल उद्घाटन गर्ने बताएका छन् । मकालु खबरसँग कुरा गर्दै प्रवक्ता शर्माले निर्धारित कार्यक्रमअनुसार नै आज पुल उद्घाटन हुने बताएका हुन् ।

उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरी उद्घाटन गर्न वरिष्ठ नेता पौडेललाई निम्ता दिइएकोले आज पुल उद्घाटन गरिने उनको भनाई छ । उनका अनुसार गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बिहान ११ बजेपछि वरिष्ठ नेता पौडेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बुधबारको घटनाले नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो पतनको लागि आफैँ मार्गप्रशस्त गरेको प्रवक्ता शर्माको टिप्पणी छ । ‘प्रश्न एउटा घटनाको होइन, सरकारको चरित्रको हो,’ शर्माले भने- ‘ओली सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भएको छ, यो घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको छ ।’

कांग्रेसकै पालामा शिलान्यास र निर्माण भएको पुल उद्घाटनमा अवरोध किन ? प्रश्न गर्दै शर्माले भने- ‘तनहुँमा कुन पार्टीका नेता कार्यकर्ताले के व्यवहार गरेका छन् भन्ने भन्दा हामी सरकारले के व्यवहार गरेको छ भन्ने हेर्छौं ।’ सरकारविरुद्ध नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा प्रदर्शन गर्ने तयारी गरेको छ । पौडेल पक्राउ पछि कांग्रेस सभापति देउवाले पनि विज्ञप्ती जारी गरी देशव्यापी विरोध कार्यक्रम चर्काउने बताएका थिए ।

प्रतिक्रिया