‘सचिवालयले निर्णय गर्दा तपाईले अवरोध गर्न मिल्दैन’

काठमाडौं । सत्तारुढ नेकपाको आज बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षद्वय विचको सम्बन्ध नोकझोंकपूर्ण रह्यो । सचिवालय बैठक बस्ने नबस्ने विषयमा दुई अध्यक्षविच भनाभन भएको हो ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमै बैठक बस्ने भनिएपनि शीर्ष नेताहरुलाई सुरक्षा थ्रेट रहेको भन्दै बालुवाटारमै बैठक बस्ने भनियो । त्यसपछि सचिवालयका सदस्यहरु बालुवाटार लागेका थिए । त्यहाँ बैठकको शुरुवातमै ओली र दाहाल विच गलफत्ती भएको एक सचिवालय सदस्यले भने ।

मकालु खबरसँग कुरा गर्दै उनले भने–‘पार्टीको सचिवालय बैठक कार्यकारी अध्यक्षले शुरु गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना कुरा राख्न भन्नु भयो, उहाँले आफुमाथि लगाइएका गम्भिर राजनीतिक प्रस्ताब फिर्ता नलिएसम्म बैठक नबस्ने भन्नु भयो ।’ ती सचिवालय सदस्यले भने ।

ओलीले प्रचण्डको प्रस्वाव आरोपपत्र भएकोले त्यसमाथि छलफल नहुने बताएपछि प्रचण्डले सचिवालयका अधिकांश सदस्यले छलफल हुने भनेपछि ओलीले मात्रै छलफल नगर्ने भन्न नमिल्ने बताएका थिए । ‘ओलीले प्रचण्डको प्रस्ताबमा छलफल नगर्ने अडान लिएपछि प्रचण्डले सचिवालयको बहुमत सदस्यले भनेको कुरामा अडान राख्न नमिल्ने बताउँनु भयो । त्यसपछि अन्य सदस्यहरुले पनि प्रचण्डको पक्ष लिँदै छलफल हुनुपर्ने अडान लिए ।’ ती सचिवालयले भने ।

सचिवालय सदस्यका अनुसार ओलीले वैठकै हुन नदिने भनेपछि ओली पक्षका इश्वर पोखरेल र बामदेव गौतमले समेत प्रतिवाद गरेका थिए । ‘छलफल गर्ने नगर्ने भन्ने तपाईले व्यक्तिगत रुपमा भन्ने कुरा हैन, सचिवालयले निर्णय गर्दा तपाईले अवरोध गर्न मिल्दैन ।’ प्रचण्डको ओलीलाई जवाफ थियो ।

आजको सचिवालयमा नेकपा महासचिव विष्णु पौडेल मात्र ओलीको कित्तामा थिए । उनले प्रधानमन्त्रीको अडानमा साथ दिएपनि बहुमत सदस्य प्रचण्डको पक्षमा रहेकाले जोर चलेन ।

आजको बैठकमा सचिवालयका बहुमत सदस्यहरुले दुवै अध्यक्षको प्रस्ताव उपर छलफल हुनुपर्ने अडान लिएपछि भोली बस्ने भनिएको सचिवालयबाट दुवै अध्यक्षको प्रस्तावमा घनीभूत छलफल हुने छ ।

बैठकमा पार्टी कमिटीमा प्रवेश गरेको दस्तावेज कसैले चाहदैमा वा कसैलाई मन नपर्दैमा फिर्ता गर्न नमिल्ने र त्यसमाथि घनिभूत छलफल हुनुपर्ने बहुमत सदस्यहरुले धारणा राखेका थिए ।

भोलि बुधबारको बैठक बस्नुअघि नेताहरुबीच औपचारिक र अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सचिवालयको बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेछ । त्यसबाहेक सहमतिको प्रयासका लागि नेताहरुले अनौपचारिक रुपमा वार्ता र संवादलाई पनि तिब्र पार्ने भनेका छन् ।

कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावपछि अर्का अध्यक्ष ओलीसँग औपचारिक संवाद बन्द छ । मंसिर १३ गते बसेको सचिवालय बैठकमा ओलीले प्रचण्डलाई पार्टी एकता अघिका घटना र प्रसंग समेत जोडेर जवाफी प्रतिवेदन ल्याएपछि दुई नेताहरुको सम्बन्ध झनै चिसिएको छ ।

पार्टीभित्र दुई अध्यक्षविच तिक्ततापूर्ण सम्बन्ध भएपछि नेकपा फुटको अवस्थामा समेत जाने आंकलन गरीएको थियो । पार्टी एकता जोगाइराख्न शीर्ष नेताहरु विच संवाद र छलफल नै श्रेष्ठकर उपाय भएकोले दोस्रो तहका नेताहरुले वार्ता र संवादका लागि दवाव दिइरहेका छन् ।

नौ सदस्य रहेको सचिवालयमा कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ एकातिर छन् । ओलीको पक्षमा महासचिव विष्णु पौडेल, बादल र इश्वर पोखरेल छन् ।

कात्तिक २८ गते प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावपछि मंसिर ३ गते बसेको बैठकमा केपी शर्मा ओलीले प्रचण्डको प्रतिवेदनमा उठाइएका विषयको खण्डन गर्दै आफूले जवाफी प्रतिवेदन ल्याउन १० दिनको समय लिएका थिए । उनले मंसिर १३ गते बसेको बैठकमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेस गर्दै प्रचण्डलाई जनयुद्धका विषयमा समेत आरोप लगाएका थिए ।

उक्त प्रतिवेदन पार्टी एकता हुनु अगाडी र प्रचण्डका व्यक्तिगत प्रसङ्गमा केन्द्रित भएको भन्दै सचिवालयका पाँच नेताले ओलीलाई जवाफ दिने तयारी गरेका थिए । संभवतः भोली बस्ने सचिवालयमा यस विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।

प्रतिक्रिया