बाढी पीडित सुकुम्वासीलाई लालपुर्जा दिलाउन गृहमन्त्रीसँग छलफल

  • ध्रुवराज खनाल

चितवन । बाढीले विस्थापित भई तत्कालिन जिल्ला विकास समितिको जग्गामा बस्दै आएका खैरहनी चैनपुरका बाढी पीडितलाई हक हस्तान्तरणमा पहल थालिएको छ । वि.सं. २०५० सालमा गएको बाढीले खैरहनी, कुमरोज र वछौलीका ५५ घरधुरीलाई चैनपुर पुर्नस्थापना गरिएको थियो । हाल उनीहरु खैरहनी २ को नमुना वस्तीमा बस्दै आएका छन् ।

बाढीपछि ति घरधुरीको बसोबासका लागि तत्कालिन गृह मन्त्रालयले साविकको जिल्ला विकास समितिलाई ९ लाख रुपैयाँ पठाएको थियो । सो रकमले खरिद गरेको जग्गाको लालपुर्जा जिविसको नाममा छ । जिविसको नाममा रहेको संयुक्त लालपुर्जा व्यक्ति-व्यक्तिकाे नाममा हस्तान्तरण गर्न हालको जिल्ला समन्वय समिति र खैरहनी नगरपालिकाले प्रक्रिया अगाडी बढाउन संघीय सरकारसँग पहल सुरु गरेको हाे ।

सो प्रक्रिया अगाडी बढाउन जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी र खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष माग गरेका हुन् । जिसस प्रमुख डल्लाकोटी र मेयर चौधरीले सोमवार गृहमन्त्री थापासँग सो विषयमा भेटघाट गरेका थिए । भेटका क्रममा डल्लाकोटीले बाढी पीडितको जग्गा सट्टा भर्ना गरि हाल बस्दै आएको जग्गाको लालपुर्जा ति पीडितलाई दिलाउन माग पत्र पेश गरे ।

वि.स.२०७४ मा मन्त्रिपरिषदकाे बैठकले जग्गा सट्टा भर्ना गर्ने निर्णय गरेको थियो । हाल उनीहरु बस्दै आएको जग्गा व्यक्तिकाे नाममा छुट्टाछुट्टै लालपुर्जा दिने र ति पीडितहरुको तर्फबाट एकमुष्ट ५१ कठ्ठा जग्गा जिससलाई दिने सहमति भएको थियो ।

हाल उनीहरु बसोबास गरेको जग्गाको क्षेत्रफल ३ विगाहा १० कठ्ठा रहेको छ । उनीहरुका लागि रेड वार्ना नेपाल नामक संस्थाले घर निर्माण गरेको थियो । उनीहरुले चर्चेको जग्गा अनुसार लालपुर्जा दिलाउन गृहमन्त्री समक्ष माग गरिएको खैरहनीका मेयर लालमणी चौधरीले बताए ।

‘उनीहरु (बाढी पीडित) लाई बाढीले घरबार विहीन बनायो । लामो समय हुँदा सम्म पुर्जाविहीन उनीहरुलाई हक हस्तान्तरण प्रक्रिया अघि बढाउन संघीय सरकारसमक्ष माग गरेका छाैँ, ’ मेयर चौधरीले भने ।

गृहमन्त्री थापासँगको भेटमा गृह मन्त्रालयका सचिव, भूमी व्यवस्था मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, नापी विभागका निर्देशक, गृहमन्त्रीका राजनितिक सल्लाहाकार सुर्य सुवेदी लगायतको उपस्थिति थियो ।

सो अवसरमा गृहमन्त्री थापाले सम्बन्धि मन्त्रालयका सचिवहरुलाई जग्गाको हक हस्तान्तरणको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिए । सोे अवसरमा जिसस प्रमुख डल्लाकोटी र मेयर चौधरीले गृहमन्त्री थापाप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत दिए । बाढी पीडित वसेको सो जग्गामा सामुदायिक भवन, पार्क समेत रहेको छ ।

कृषि क्याम्पसलाई जग्गा उपलब्ध गराउन माग

क्याम्पस सञ्चालन भएको २ वर्ष भन्दा बढी समय हुँदा पनि कृषि र पशुविज्ञान अध्ययन संस्थान अन्तर्गतकाे रामपुर क्याम्पस खैरहनीले जग्गा प्राप्त गर्न सकेको छैन । हाल खैरहनी नगरपालिकाले प्रदान गर्दै आएको भवनबाट क्याम्पसको कक्षा, प्रशासन, लाईब्रेरी र प्रयोगशाला सञ्चालन भइरहेकाे छ । नगरपालिकाको वडा नम्वर ४ स्थित भुतियामा सो क्याम्पसलाई जग्गा दिने सरकारले निर्णय गरेको थियो । तर निर्णय मात्र भएको र कार्यान्वयन नहुँदा नगरपालिकाको भरमा चल्नु परेको छ ।

सरकारले दिने भनेको जग्गा प्राप्तीका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, खैरहनी नगरपालिका मेयर लालमणि चौधरी र रामपुर क्याम्पसका प्रमुख मिलन सुवेदीले वन मन्त्रालयका सचिव विश्वनाथ ओलीसँग भेट गरेका छन् । क्याम्पसलाई दिने भनिएको जग्गामा हाल शशस्त्र प्रहरीको वेश क्याम्प रहेको छ । सो जग्गा र त्यहाँका घर कृषि क्याम्पसलाई प्रयोग गर्नका निमित्त वन सचिवको ध्यनाकर्षण गराईएको भेटमा सहभागी जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटीले बताए ।

भेटका क्रममा वन सचिव पनि सकारात्मक रहेको उनले जानकारी दिए । सो जग्गाको बारे स्थलगत निरीक्षणका लागि यसै साता वन सचिव ओली खैरहनी आउने आश्वासन दिएको खैरहनीका मेयर लालमणि चौधरीले बताए । २०७५ साल असार २५ गते उद्घाटन भएको रामपुर क्याम्पसमा विएसिएजीका कक्षाहरु सञ्चालन भइरहेका छन् ।

हाल सो क्याम्पसमा १ सय ४७ जना विद्यार्थी अध्ययनरत छन् । क्याम्पस प्रमुख मिलन सुवेदीका अनुसार खैरहनी मावि परिसरमा रहेको भवनमा कक्षा सञ्चालन, दुर्गा मन्दिरमा रहेको साविक विद्यालयमा प्रयोगशाला, साविक पशु सेवा कार्यालय रहेको भवनमा लाईव्रेरी र वडा नम्वर ६ र ७ को वडा कार्यालय भवन नजिकै रहेको नगपालिकाकै भवनमा क्याम्पस प्रमुखको कार्यालय रहेको छ ।

प्रतिक्रिया