अवरुद्ध रहेको रिङरोड र रेल्वेको कामले चाँडै गति लिन्छ : मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङरोड र रेल्वेको कामले गति लिने बताएका छन् ।

कटहरी १ को जेएम युवा क्लबको २४ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले यस्ताे बताएका हुन् । मन्त्री घिमिरेले भने, ‘अवरुद्ध भएको रिङरोड र रेल्वेको कामले छिट्टै गति लिन्छ । साथै मोरङको कटहरी-१ मा मुआब्जा विवादका कारण अवरुद्ध रहेकाे रेल्वेको निर्माणले पनि अब चाँडै गति लिनेछ ।’

मुआब्जाकाे विवाद समाधान तर्फ गएको र रिङरोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने पनि मन्त्री घिमिरेले बताए । मन्त्री घिमिरेले मोरङको कटहरीले इतिहासमा अहिलेसम्म नपाएको बजेट पाइरहेको पनि जिकिर गरे । उनले भने, ‘संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तीन वर्षको अवधिमा कटहरी क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेका छन् । याे अवधिमा कटहरीको विकासले गति लिएको छ ।’

बार्षिकोत्सवको अवसरमा आयोजित टेबल टेनिस प्रतियोगिताका विजेतालाई मन्त्री घिमिरेले पुरस्कार वितरण गरेका थिए भने संसद विकास कोषबाट ५० हजारको खेल सामाग्री पनि क्लब मार्फत् खेलाडीहरुलाई मन्त्री घिमिरेले वितरण गरेका थिए ।

कार्यक्रममा कटहरी १ का वडाध्यक्ष कपुरलाल माझी, क्लबका अध्यक्ष सत्यानारायण माझी, देवराज चौधरी लगायतले आ-आफ्नाे धारणा राखेका थिए ।

प्रतिक्रिया