नेकपा सचिवालय बैठक: ‘दोस्रो पुस्ता’ बारे उठ्ला बहस ?

काठमाडौं । हिजो (सोमबार) मात्रै नेकपा स्थायी कमिटीका सदस्य एवम् ऊर्जामन्त्री वर्षमान पुनले एक कार्यक्रममा ‘दुई अध्यक्ष पद छाेड्न तयार हुनुभयाे भने सरकार र पार्टी हामी चलाउँछौँ’ भन्ने अभिव्यक्ति दिए ।

साथै उनले नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने निर्णय आवेग र उत्तेजनामा नभइ विवेकपूर्ण ढंगले गर्न आग्रह समेत गरे ।

‘नेतृत्वमा नयाँ पुस्ता’ काे विषय मन्त्री पुनबाट सुरू भएकाे भने हाेइन । पार्टीभित्र लामाे समय विवाद चलिरहँदा तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामाको दबाब आइरहँदा पछिल्लाे एक अन्तर्वार्तामा प्रधानमन्त्री स्वयमले सुरू गरेका हुन् ‘नयाँ पुस्ता’ काे बहस । आफूले नेतृत्व नयाँ नेतृत्वलाई दिन चाहेको उनले बताएका थिए ।

यद्यपी अन्य शीर्ष नेताहरुले भने यसबारे बहस उठाएका छैनन् । तर पछिल्लाे समय अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचकाे दुरी घट्ने सम्भावना नदेखिएपछि युवा नेताहरूमा भने यसबारे बहस सुरू भएकाे छ ।

अध्यक्षद्वयले आ–आफ्नो प्रतिवेदनमा एकअर्कामाथि आरोप–प्रत्यारोप थाेपरिरहेका बेला पार्टी एकता नै धरापमा पर्ने देखिएपछि दाेस्राे पुस्ताका नेताहरू उनीहरूबीचकाे विवाद मिलाउन लागि परेका छन् । बरू नेतृत्व दाेस्राे पुस्तामा हस्तान्तरण गर्नमा जाेड गर्ने तर पार्टी फुट्न नदिने उनीहरूकाे भनाइ छ ।

दाेस्राे पुस्ता जति नै सक्रिय भएर लागि परेपनि अध्यक्षद्वयबीचकाे तिक्तता भने ज्यूँकाे त्युँ रहेका बेला आज (मंगलबार) दिउँसाे १ बजे नेकपाको सचिवालय बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले पेश गरेका बेग्लाबेग्लै प्रस्तावमाथि आज छलफल हुँदैछ ।

गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै तथा उनीमाथि विभिन्न आक्षेप लगाउँदै १९ पृष्ठ लामाे प्रस्ताव पेश गरेका थिए भने प्रधानमन्त्री ओलीले शनिबारकाे सचिवालय बैठकमा ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेका थिए । उक्त प्रस्तावमा छलफल हुनुका साथै सबै सदस्यले आ-आफ्नाे धारणा राख्नेछन् ।

सचिवालयमा बैठकमा फेरि अर्काे बखेडा निस्कन्छ, दुई अध्यक्षबीच सहमति हुन्छ या दाेस्राे पुस्ताबारे छलफल हुन्छ अथवा नयाँ पुस्ताबारेकाे बहस चर्चामै सिमित हुने हाे या यसले सार्थकता पाउने हाे त्याे भने हेर्न बाँकी छ । कतिले भने ओलीले आफूविरुद्धको प्रस्ताव छल्न नयाँ पुस्ताकाे रणनीति अपनाएकाे पनि अड्कलबाजी गरिरहेका छन् ।

युवा नेताहरूले भने प्रधानमन्त्री ओलीले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहेका भए तत्काल राजीनामा दिन सक्नुपर्ने बताउँदै आएका छन् । नेकपा विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य बिष्णु रिजालले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए- ‘केपी कमरेडले सॉच्चै नेतृत्व नयॉ पुस्तामा हस्तान्तरण गर्न चाहनुभएको हो भने दुबै पदबाट तत्कालै राजीनामा दिएमा उहॉको पुस्ताका अरू नेतालाई ती पदमा दावी गर्न मुश्किल पर्छ र नेतृत्व स्वत: दोस्रो पुस्तामा आउँछ । अरू नेताहरूले पनि यसतर्फ ध्यान दिने कि !’

यस्तै मन्त्री पुनले पनि रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ’, भनेका थिए ।

प्रधानमन्त्री ओली पनि आफ्नो अभिव्यक्तिबाट अहिले पछि हटिसकेका छैनन् ।  अध्यक्ष दाहाललाई दिइएको ओलीकाे जवाफी प्रतिवेदनमा समेत यसबारे लेखिएको छ – ‘म आज खुल्ला आह्वान गर्न चाहन्छु– त्यागको यो सिलसिला आजै सुरु गरौँ ! बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ ! म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु ! के तपाईं तयार हो ?’

प्रतिक्रिया