नेकपामा जारी शक्ति संघर्षको अन्त्य कहिले ?

काठमाडौं । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्ष थप उत्कर्षमा पुगेको छ । दुवै अध्यक्षले सचिवालय बैठकमा एकपछि अर्काे प्रतिवेदन पेस गरेसँगै विवाद थप उत्कर्षमा पुगेको हो भने अध्यक्षद्वय ओली र प्रचण्डको दूरी पनि झन्-झन् बढिरहेको छ ।

यहिबीच आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अधयक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्नेछ । बैठक अघि गुटगत रणनीति बनाउन व्यस्त छन् शीर्ष नेताहरु । कार्यकारी प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रयासमा छ । ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन् । बैठक माग गर्दै पाँचजना सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध पनि चलेको छ । कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए । त्यसको जवाफमा ओलीले अर्को प्रस्ताव पेश गरेका हुन् ।

टाउका गन्ने चरणमा पुगिसकेको नेकपा सचिवालयको आजको बैठकलाई निकै महत्वका साथ हेरिएको छ । दुई अध्यक्षका फरक-फरक प्रस्तावपछि नौ सदस्यीय सचिवालय दुई खेमामा विभाजित भएको हुन् । ओलीलाई अहिलेसम्म उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले साथ दिँदै आएका छन् । प्रचण्डको प्रतिवेदनलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन् ।

गत ३ मंसिरको सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् । सहमति र एकताको बोली सबै नेताले बोले पनि व्यवहारमा गुटमात्र सञ्चालन गर्न पल्किएका नेताका कारण नेकपा एकता गम्भीर मोडमा पुगेको छ ।

प्रतिक्रिया