‘गणतन्त्र रक्षा गर्न नाति पुस्ता जन्मिसकेको छ’

काठमाडौं । केही दिनदेखि देशभर विभिन्न सहरमा राजतन्त्र पुनर्स्थापना र नेपाललाई हिन्दु राज्य बनाउनु पर्ने मागसहितको प्रदर्शन भइरहेका छन् । राष्ट्रिय शक्ति नेपाल अभियान लगायत विभिन्न नामका समूहको नेतृत्वमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरिएको हो ।

सोमबार दिउँसो राजधानी काठमाडौंमा पनि यो समूहले प्रदर्शन गर्‍यो । नेपालमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भएको १२ वर्ष बितिसकेको छ । जनताले चुनेको संविधानसभाले नयाँ संविधान जारी गरी त्यस संवैधानिक व्यवस्था अनुसार मुलुक अघि बढिरहेको छ ।

यद्यपी अहिले सबैतिर बेथिति बढेकाले जनता सरकारप्रति निराश छन् र, उनीरु यो बेतितिको विरुद्ध आवाज उठाउन चाहन्छन् । तर राजतन्त्र पक्षधरहरुले ‘सबै बेथिति गणतन्त्रले नै ल्याएको हो’ भन्ने कोणबाट जनमत निर्माण गर्न खोजिरहेका छन् ।

यहिबीच पछिल्लो समय देशका विभिन्न शहरमा भइरहेका प्रदर्शनहरुमाथि चिसो टिप्पणी गरिरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराइले फेरि राजावादीहरुलाई चेतावनी दिएका छन् । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका डा बाबुराम भट्टराईले आफ्नो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नातीपुस्ता जन्मिसकेको टिप्पणी गरेका हुन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले ती प्रदर्शनलाई ०१७ सलाका योगी नरहरिनाथहरुको भद्दा नक्कलको संज्ञा दिए । ‘यौटै शैलीमा देशका प्रमुख शहर र काठमाण्डौमा गरिएका राजावादीहरूका प्रायोजित हर्कतले ०१७ सालका योगी नरहरिनाथहरूको भद्दा नक्कल गरेको प्रष्टै छ,’ उनले भनेका छन्- ‘तर यो २१ औं शताब्दी हो, सार्वभौम बनेका जनता फेरि दासतामा फर्कने छैनन् । हाम्रो पुस्ताले लडेर ल्याएको गणतन्त्रको रक्षा गर्न नाती पुस्ता जन्मिसकेको छ है !’

प्रतिक्रिया