उर्जामन्त्री भन्छन्- दुई अध्यक्षले छाड्नुभयाे भने सरकार र पार्टी हामी चलाउँछाैँ

काठमाडाैं । सत्तारूढ नेकपामा पछिल्लाे समय युवा नेतृत्वका कुरा चलिरहँदा ऊर्जामन्त्री वर्षमान पुनले दुवै अध्यक्षले पार्टी तथा सरकार छाेडे दाेस्राे पुस्ता नेतृत्वका लागि तयार रहेकाे बताएका छन् ।

आज (सोमबार) बिहान रोल्पाको लाकुरीमा ३३/११ केभी सबस्टेशनको उद्घाटन समारोहमा बाेल्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री पुनले यस्ताे बताएका हुन् । उनले कार्यक्रममा भनेका छन्- ‘अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू पद छाेड्न तयार हुनुभयाे भने हामी दाेस्राे पुस्ता सरकार र पार्टी दुवै चलाउन तयार छाैँ ।’

यस्तै मन्त्री पुनले नेकपाभित्रकाे बहसले सिंगाे देशकाे राजनीति प्रभावित भएकाे बताए । ठूला विवादको निरूपण महाधिवेशनबाट र साना विवादको निरूपण केन्द्रीय कमिटीबाट गरिने उनकाे भनाइ छ ।

पार्टीभित्र विवाद चलिरहँदा तथा उनलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामाको दबाब आइरहँदा पछिल्लाे एक अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफूले नेतृत्व नयाँ नेतृत्वलाई दिन चाहेको बताएका थिए । यद्यपी अन्य शीर्ष नेताहरुले भने यसबारे बहस उठाएका छैनन् ।

पछिल्लाे समय अध्यक्षद्वयबीच तिक्तता बढ्दाे छ । दुवैले आ–आफ्नो प्रतिवेदनमा एकअर्कामाथि आरोप–प्रत्यारोप थोपरेका छन् । दाेस्राे पुस्ताका नेताहरू उनीहरूबीचकाे विवाद मिलाउन लागि परेपनि विवाद साम्य हुन सकिरहेकाे छैन ।

प्रतिक्रिया