मकालुखबर दिनभर : यी हुन् आजका १० प्रमुख समाचारहरु

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले चीनका राज्य परिषद् सदस्य वेइसँग सन् २०१६ मा आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए ।

भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याएका थिए । यसबीच राष्ट्रपति विद्यादेवी भण्डारीको पनि चीनमा औपचारिक भ्रमण भएको थियो ।

रक्षा मन्त्रालयको कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री ओलीले चीनले नेपालमा दूरसञ्चार, रेल, विद्युत्, आर्थिक र सामाजिक क्षेत्रको पूर्वाधार विकासमा गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाएका थिए ।

प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।

सल्लाहकार डा. भट्टराईका अनुसार मन्त्री वेइले चीन क्षेत्रीय र अन्तरराष्ट्रिय शान्तिका पक्षमा समेत रहेको स्मरण गराएका थिए । आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँगको भेटमा आफूहरुले थप सैन्य सहयोग गर्ने विषयमा छलफल गरेको पनि मन्त्री वेइले जानकारी गराएका थिए ।

दुई देशबीच लामो समयदेखि घनिष्ठ र समस्यारहित सम्बन्ध रहेकामा दुवै नेताले भेटका अवसरमा सन्तोष व्यक्त गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन् । महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले नयाँ कार्यसमितिका लागि निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएकी हुन् ।

राणाले वरिष्ठ उपाध्यक्ष एवम् नयाँ कार्यकालका अध्यक्ष शेखर गोल्छालाई सपथ ग्रहण गराएकी थिइन् भने गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराएका हुन् ।

महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले सबै निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

देशभर थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त, २५ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

त्यस्तै, देशभर १४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा १७ हजार ९०९ जना सक्रिय संक्रमितहरू छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २५ संक्रममितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४ सय ७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार्य : सरकार

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन–२०२० अस्वीकार गरेको छ । उक्त प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको पनि सरकारले दावी गरेको छ ।

प्रतिवेदनमा नेपालका प्रधानमन्त्री नै भ्रष्टाचार आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको थियो भने पछिल्लो समय नेपालमा भ्रष्टाचार बढेको कुरा अटाइएको थियो ।

तर, सरकारले सो प्रतिवेदनमा आफ्नो असहमति रहेको बताएको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोबारे बताएका हुन् ।

वक्तव्य जारी गर्दै मन्त्री गुरुङले सरकारले ट्रान्सपरेन्सीबाट सहयोगको अपेक्षा गरेपनि त्यस्तो हुन नसकेको बताए । यस्तै मन्त्री गुरुङले सरकार विरोधी गतिविधिमा लागेका मान्छेहरुलाई सोधेर प्रतिवेदन तयार पारिएको दाबी गरेका छन् ।

प्रतिवेदनअनुसार नेपाल मतसर्वेक्षणमा सहभागी एसियाका १७ देशहरुमै पहिलो हो ।

जनआन्दोलन, जनयुद्ध र मधेश आन्दोलनका घाइतेको निःशूल्क उपचार गर्ने
सरकारले जनआन्दोलन २०६२६३, जनयुद्ध तथा मधेश आन्दोलनका क्रममा गोली तथा बमको छर्रा लागेका पहिचान नभएका ब्यक्तिहरु पहिचानका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषको बैठकले त्यस्ता ब्यक्तिहरुको सरकारी अस्पतालमा निःशूल्क उपचार गराउने पनि निर्णय गरेको छ ।

यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा आगामी डिसेम्बर ४ मा कोरोना संक्रमणबारे संयुक्त राष्टसंघको विशेष अधिवेशनमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधि मण्डल गठन भएको छ ।

बैठकले जिल्ला समन्वय समितिको महासंघको भवन निर्माण गर्नका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै विभिन्न गाउँपालिकाको कार्यालय निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै बैठकले ३ सहसचिवको बढुवा गर्ने निर्णय गरेको छ । चिया तथा कफि विकास बोर्डको बिनियमावली पनि स्वीकृत गर्ने निर्णय गरेको छ ।

कोरोना उपचार खर्च विवरण सात दिन भित्र प्रधानमन्त्री कार्यालयमा पठाउन स्थानीय तहलाई निर्देशन
सरकारले कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरेको खर्च विवरण सात दिनभित्र प्रधानमन्त्री कार्यालयमा पठाउन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सर्कुलर गरी उक्त शीर्षकमा भएको पहिलो चौमासिक (कार्तिक मसान्त) सम्मको खर्च सात दिन भित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउन पत्राचार गरेको हो ।

कोरोना नियन्त्रणका नाममा स्थानीय तहले अस्वाभाविक तवरले गरेका खर्च विवरणहरू सार्वजनिक भई रहँदा सरकारले विवरण पठाउन भनेको हो । मन्त्रालयले त्यस्तो विवरण ७ दिनभित्रमा पठाउन भनेको छ ।

कैलाश एयरको हेलिकप्टर चीलसँग ठोक्किँदा आकस्मिक अवतरण
नुवाकोटमा कैलाश एयरको हेलिकप्टर चरासँग ठोक्किँदा ठूलो दुर्घटनाबाट बचेको छ । आज दिउसो १ः४० बजे कैलाश एयरको हेलिकप्टर चीलसँग ठोक्किँदा एक जना सामान्य घाइते समेत भएका छन् ।

प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चीलसँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको जानकारी दिए ।

हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु थिए । ती मध्ये एक जनाको घुँडामा सामान्य चोट लागेको छ । अन्य यात्रु सकुशल रहेका छन् । चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

हेलिकोप्टरमा गलकोट(३ का वडाध्यक्ष वीरजंग भण्डारीसहित गलकोट नगरपालिका वडा नम्बर ३ का बासिन्दा सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल, अमृत खत्री र चालक रहेका थिए।

वीपी प्रतिष्ठानमा इन्टर्न डाक्टरहरु आन्दोलित
दुई महिना अघि बुझाएको मागपत्र अझैसम्म पुरा नगरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरु आन्दोलित भएका छन् ।

गत असोज १४ गते र १८ गते नियमित जिवन निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने लगायतका मागहरु प्रतिष्ठान समक्ष राख्दा उपकुलपति डा। ज्ञानेन्द्र गिरीले कुनै चासो नदिएको भन्दै उनीहरुले आज प्रतिष्ठानको उपकुलपति कार्यालय अगाडी धर्ना दिएका छन् ।

इन्टर्न संघर्ष समितिका संयोजक अमृत जैसीले आजबाट इन्टर्नहरुले इमरजेन्सी वाहेक सबै कामहरु छाडेका छन् । ‘उहाँहरूको आश्वासन बमोजिम हामीले पूर्व निधारित आन्दोलनका कार्यक्रम फिर्ता लग्दै नियमित कामकारवाहीमा फर्केका थियौँ । यस बिच पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई हाम्रा मागहरूको सम्बोधनको सुनिश्चितताका निम्ति पुनः पटक पटक उपकुलपतिलाई भेट्न र छलफलको निम्ति समय मिलाइदिन आग्रह गर्दा, त्यसको निम्ति पनि पहल नभएपछि हामीहरु आन्दोलनमा उत्रिएका हौं ।’ जैसीले भने ।

शेयर बजारमा आज नयाँ कीर्तिमान
 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेले आज पुनः अर्को कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकमा देखिएको वृद्धि तथा कारोबार रकमसमेत नयाँ उचाइँमा पुगेको छ । पछिल्लो दिनमा नेप्सेले लगातार ‘बुलिस टे«न्ड’लाई पछ्याएको छ । तर, सिमित सङ्ख्यामा शेयर रहेका कम्पनीमा देखिँदै आएको उच्च वृद्धि आज पनि कायम छ ।

अघिल्ला सातामा जस्तै आज साताको पहिलो दिन बैंकिङ उपसमूह र विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । विसं २०७३ मा कायम भएको उच्च अङ्कको वृद्धिलाई पछाडि छाड्दै नेप्से आज झण्डै दुई हजारको बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च अङ्क हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ७५.०२ बिन्दुले वृद्धि भई एक हजार ९६८.२७ मा पुगेको छ । प्रतिशतका आधारमा आज ३.९६ ले वृद्धि भएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.१४ प्रतिशत अर्थात् ३८३.९३ मा पुगेको छ । कूल २०० कम्पनीको दुई करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर रु नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ मा कारोबार भयो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११२.३, विकास बैंक १७३.८४, जलविद्युत् २६.६६ वित्त १२.२७, अन्य ०.२७, लघुवित्त २७.७५, जीवन बीमा २४५.७५ र सामूहिक लगानी कोष ०।०५ ले उकालो लागेको छ । यस्तै, व्यापार ३५.३७, होटल ७.६८, जीवन बीमा ४५.५५ र उतपादन ३७.२७ अङ्कले ओरालो लागेको छ । कारोबारका आधारमा आज नेपाल पुनःबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५१ करोड ७९ लाख ९१ हजार ८३७ बराबरको कारोबार भयो ।

यस्तै, कुमारी बैंक रु ४० करोड ८० लाख ६२ हजार ६५६, नबिल बैंक रु ३३ करोड ५६ लाख सात हजार ८६९, प्रभु बैंक रु ३३ करोड १० लाख ५७ हजार २६१, नेपाल बैंक रु ३२ करोड ४५ लाख ३३ हजार, ग्लोबल आइएमई बैंक रु २७ करोड ९५ लाख ८२ हजार ८७६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २६ करोड ३९ लाख १२ हजार ६२५, शिवु् सिमेन्ट रु २३ करोड ९८ लाख ४२ हजार ९५२ र हिमालयन डिस्टिलरु रु २३ करोड ८९ लाख ४० हजार ९३४ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज ग्रीन डेभलपमेन्ट बैंक, सेञ्चुरी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सनराइज बैंक ९.९२, माछापुच्छ्रे बैंक ९.९२, मुक्तिनाथ विकास बैंक ९.९०, मेगा बैंक ९.८९, नेपाल बंगलादेश बैंक ९.८९, महालक्ष्मी विकास बैंक ९.८८ र प्रभु बैंकका लगानीकर्ताले ९.८६ प्रतिशतले कमाए ।

यसगरी, विशाल बजार कम्पनी १०, आँखु खोला जलविद्युत् कम्पनी ६.२५, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.७९, सनराइज फ्रस्ट म्युचुअल फण्ड ३.७९, पाँचथर पावर कम्पनी ३.२९, ग्लोबल आइएमई लघुवित्त ३.१७, जोशी हाइड्रोपावर ३.१३, महिला सहयात्रा माइक्रोफाइनान्स २.९२ र अजोड इन्स्योरेन्सका लगानीकर्ताले २.८६ प्रतिशतले गुमाए ।

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी
सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ ।

सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा महिनाभरिको सबैभन्दा उच्च ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको अष्ट्रेलियाको मौसम विभाग कार्यालयले जनाएको छ ।

सिड्नीमा शनिबारदेखि आइतबारसम्ममा तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम नभएको पनि मौसमविद्हरूले बताएका छन् ।

सिड्नीमा आइतबार बिहान ४ः३० बजेको तापक्रम पनि ३० डिग्रीभन्दा बढी रहेकोे थियो । सिड्नीमा आइतबार दोस्रो दिन पनि तापक्रम ४० डिग्रीभन्दा बढी नै रहेको छ ।

“त्यसैगरि दक्षिणपूर्वी अष्ट्रेलियाको न्यू साउथ वेल्समा पनि शनिबार र आइतबार अत्यधिक गर्मी महशुस गरिएको छ भने यहाँ गर्मी अझ बढ्ने सङ्केत देखिएको छ,” अष्ट्रेलियाका विभिन्न भागमा आगामी दिनमा अझ बढी गर्मी हुने पूर्वानुमान गरिएको मौसम विभागका एक अधिकारी अगाटा इमिएल्स्काले बताए ।

अष्ट्रेलियाको दक्षिणी क्षेत्र ग्रिफिथ्स र माइल्दुरामा नोभेम्बरका दिनहरूमा तापक्रम अत्यधिक रहेपनि शनिबार सबैभन्दा धेरै क्रमशः ४३.२ र ४५.७ डिग्री सेल्सियससम्म पुगेको थियो ।
गर्मी उच्च हुन थालेपछि वस्ती नजिकका जङ्गल वरपर आगो नबाल्न अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका छन् ।

अष्ट्रेलियामा सन् २०१९को अन्त्य र सन् २०२० को सुरुमा जङ्गलमा लागेको डढेलो नियन्त्रणमा ल्याउन नसक्दा ३३ मानिससहित तीन अर्ब प्राणीले अकालमा मृत्यु वा विस्थापित भएको घटना ताजै रहेपनि यो वर्ष पनि अत्यधिक गर्मीसँगै डढेलोका घटना बढ्नसक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सचेत बनाएका हुन् ।

डढेलोका कारण अष्ट्रेलियाले यो शताब्दीकै बढी क्षति ब्यहोरेको एक वर्षपछि पनि करिब ६० स्थानमा डढेलो लागेको समाचारहरू सार्वजनिक भएका छन् । गत वर्षको डढेलोका कारण अष्ट्रेलियाले सात अर्ब अमेरिकी डलर बराबरको आर्थिक भार बहन गर्नुपरेको थियो ।

प्रतिक्रिया